पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारी स्वरूप झिलिमिली बनाइएको छ ।
महाशिवरात्रि अवसरमा पशुपतिनाथ परिसरमा रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले सजाइएको हो ।
पशुपतिनाथ मन्दिरको मुख्य स्थललाई फूलले सजाइएको छ । सो कार्यका लागि करिब ५० लाख खर्च भएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।
दाताहरूको सहयोगमा बिजुली तथा फूलले सजावट गरिएको हो । यसैगरी मन्त्री आलेको निर्देशनमा पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव र पार्वतीका चित्रलेखन पनि सम्पन्न भएको छ । यसैगरी महाशिवरात्रिका लागि आएका साधुसन्तले पशुपति क्षेत्रका कुनाकुनामा भीड बढेको छ ।
हंस मण्डप, निर्मल अखडा, भष्मेश्वर अखडा, अन्नपूर्ण भण्डारलगायत स्थानमा निःशुल्क भोजनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
भोलि फागुन १७ गते महाशिवरात्रि पर्व परेको छ ।
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ ।
मंगललबार हुने महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने तथा भीड बढ्ने गरेका कारण कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्ने भएकाले मास्क र स्यानिटाइजरलाई अनिवार्य गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य तथा मेला व्यवस्थापन समितिका संयोजक पूर्णसङ्गम जेठाराले बताए ।