पशुपतिनाथ मन्दिरमा जोगी र साधुसन्तहरुको चहलपहल बढेको छ ।
महाशिवरात्रि पर्वका लागि विभिन्न स्थानबाट साधुसन्त पशुपतिनाथ मन्दिर परिसरमा आउने क्रम जारी छ ।
महाशिवरात्रि पशुपति क्षेत्रमा मनाइने जात्रा पर्वमध्ये मुख्य मानिन्छ । परब्रह्मले फाल्गुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचनअनुसारमहाशिवरात्रि दिन पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने गरेको छ ।
साधुसन्त र जोगीबाबाहरुको क्रियाकलापले धेरैको ध्यान खिच्ने गर्दछ । त्यसैले साधुसन्त बसेको ठाउँमा पनि दर्शनार्थीहरुको सहभागीता उल्लेख्य हुने गरेको छ ।
सरकारले सार्वजनिक स्थानमा धूमपान र मद्यपान निषेध गरेको छ । तर आफूलाई भगवान शिवका प्रतीक मान्ने शिवरात्रिका बाबाजीहरुलाई यो कानुनले छोएको छैन । उनीहरु निष्फिक्री गाँजा तानीरहेका छन् ।
महाशिवरात्रिमा पशुपतिनाथ मन्दिरमा देशविदेशबाट लाखौँ भक्तजन आउने गर्छन् । हजारौँको सङ्ख्यामा साधुसन्तको आगमन पनि यस अवसरमा हुने गर्छ ।
पशुपति क्षेत्रमा फागुन लागेदेखि नै साधुसन्तको चहलपहल बढ्न थालेको छ । राजधानीका अन्य स्थानमा अहिले साधुसन्त बढी देखिन थालेका छन् ।
पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रमा गाँजा, भाङलगायतका नशालु पदार्थ सेवन तथा बिक्री वितरण गर्न रोक लगाएको छ । तर त्यसको अनुगमन तथा कार्यान्वयन पक्ष हरेक वर्ष फितलो देखिन्छ ।
देशभरका विभिन्न ठाउँबाट तथा भारतबाट समेत जोगी तथा साधु सन्त भगवान् शिवको दर्शन गर्न एक साता अघिदेखि नै पाशुपत क्षेत्र आउने गर्दछन् ।
हिन्दु धर्ममा महाशिवरात्रि पर्वको विशेष महत्त्व छ । यस वर्ष फागुन १७ गते महाशिवरात्रि पर्व मनाइँदैछ ।