नाबालिगमाथि करणी गरेको आरोपमा फरार रहेका अभिनेता पल शाहबारे सोधपुछ गर्न प्रहरी कार्यालय तीनकुने पुर्याइएका निर्देशक सुदर्शन थापा छुटेका छन् ।
प्राइम टेलिभिजनमा अन्तरवार्ताका लागि पुगेका थापालाई प्रहरीले सोधपुछका लागि भन्दै शनिबार प्रहरी कार्यालय लगेको थियो । उनलाई अभिनेता पल शाहलाई लुकाउन सहयोग गरेको आशंकामा सोधपुछका लागि पक्राउ गरिएको बताइएको छ।
‘उनी केही बेरअघि छुटेका छन्’ प्रहरी स्रोतले भन्यो । थापा शाह अभिनीत चलचित्र ‘म यस्तो गीत गाउँछु–२ का निर्माता तथा निर्देशक हुन् ।
पल शाहलाई पक्राउ गर्न प्रहरीको जम्बो टोली परिचालन गरिएको फिल्डमा खटिएको छ । बलात्कार मुद्दा दर्तासँगै उनीविरुद्ध जिल्ला अदालत तनहुँले फागुन ११ मा पक्राउ पूर्जी जारी गरेको थियो ।
पलको खोजीमा प्रहरीको ५ टोली परिचालन गरिएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा, परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय तनहुँको टोलीले उनीबारे अनुसन्धान गरिरहेका छन् ।