राष्ट्रिय पुरुष फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विज्ञप्ति जारी गर्दै खड्काले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर प्रहरी सहायक निरीक्षक (असई)मा जागिर खाएको जनाएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्यसमेत रहेका खड्काले माध्यमिक शिक्षा परिषद् बाराणशी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक योग्यता (आइएको) को झुट्टो प्रमाणपत्र पेश गरेको आयोगको दाबी छ ।
सोही प्रमाणपत्रका आधारमा २०५५ कार्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा उनी नियुक्ति भएको खुलेको हो । प्रहरी सेवामा निरन्तर वहाल रही २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएको देखिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।a