नेपाल प्रहरीका एसएसपी पूजा सिंह डिआइजीमा बढुवा सिफारिस भएकी छन् ।
बढुवा समितिको सचिवालयका अनुसार रिक्त एक डिआइजी पदमा सिंहलाई बढुवाका लागि सिफारिसको निर्णय भएको हो । बढुवा समितिको बैठक शुक्रबार बसेको थियो ।
सिंहको हालै मात्र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय भैरहवामा सरुवा भएको थियो ।
यसअघि उनी संघीय इकाइ गण्डकी प्रदेशको प्रमुख थिइन्।
व्यावसायिक प्रहरीको छवि बनाएकी सिंहले प्रहरी उपरीक्षक हुँदा काभ्रे र तत्कालीन पूर्वक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय सुनसरीको जिम्मेवारी सम्हालेकी थिइन्।
सिंह प्रहरी निरीक्षकमा महिलातर्फ खुला प्रतिस्पर्धामा पहिलो थिइन्। उनी महिलातर्फ सुडान मिसनमा पनि कमाण्डेडको रूपमा काम गरेकी थिइन्।