संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी सङ्ग्रहालय भित्रबाट बतास समूहलाई हटाएरै छाड्ने बताएका छन् ।
आज बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी सङ्ग्रहालयमा रेस्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन् । उनले यो समूहलाई कुन प्रक्रियामार्फत हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए । मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भए पनि हटाएरै छाड्ने दावी गरे ।
बतास समूहले नारायणहिटी मात्र नभएर पशुपतिनाथ मन्दिरमा क्षेत्रमा रहेको धर्मशालामा पनि होटल सञ्चालन गर्दै आएको छ । धर्मशालालाई भाडामा लिएर उसले होटल चलाइरहेको हो ।
यी दुवै कार्य तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा भएको थियो । त्यो बेला एमाले नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री थिए । उनकै कार्यकालमा उक्त सम्झौता भएको थियो । तर, भट्टराईले यो विषयमा आफू अनभिज्ञ रहेको प्रष्टिकरण दिइसकेका छन् ।
मन्त्री आलेले भने, ‘सङ्ग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने । पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने । यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ । त्यसको संरक्षणको निमित्त चाहे मन्त्रिस्तरबाट होस् । चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौँ । नारायणहिटी राजदरबारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ । फेरि त्यसलाई कुन प्रक्रियाबाट हटाउन सकिन्छ भन्ने सबालमा हामी छलफलमा छौँ ।’
उनले नारायणहिटी सङ्ग्रहायलभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानबिन सुरु गरिएको बताए ।
बतास फाउण्डेसनले आफ्नो बेवसाइटमा राखेको सूचनामा आरजूलाई एडभाइजर (सल्लाहकार) को रूपमा राखेको छ । सन् २००८ मा स्थापना भएको बतास फाउण्डेसनको एडभाइजरको रूपमा आरजूसँगै डा. सुमन के. कर्ण, खेमराज उपाध्याय, क्रिस वार्डेल छन् ।
आनन्दराज बतास सञ्चालक रहेको बतास कम्पनीको निर्देशकमा २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसी लगायतका छन् । बतास फाउण्डेसनले कोरोना महामारीको समयमा विभिन्न अभियान सञ्चालन गर्दै आर्थिक संकलन गरेको थियो ।
रू. दान, महामारीमा ज्यान भन्ने नारासहित बतास फाउण्डेसनले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन प्लान्टका साथै थप आईसीयू जडान गर्ने अभियान चलाएको थियो । जसमा सन् २००५ कि मिस वर्ल्ड नेपाल सुगारिका केसीसँगै, सन् २०१० कि मिस वर्ल्ड नेपाल सदिक्षा श्रेष्ठ, भलिबलको राष्ट्रिय खेलाडी सिपोरा गुरूङ, सन् २०११ कि मिस वर्ल्ड नेपाल मलिना जोशी लगायतले ऐक्यबद्धता जनाएका थिए ।
त्यस्तै रू. १०० दान गरौं, महामारीमा प्राण राखौं भन्ने नारासहित सामुदायिक, सरकारी अस्पतालमा अक्सिजन प्लान्ट र कन्सन्ट्रेटर बैंक स्थापना गर्ने भन्दै सहयोग उठाएको थियो । एकातिर समाज सेवाको नाममा पैसा उठाउँदै आएको बतास समूहले अर्कोतिर भने महत्वपूर्ण ठेक्काहरू हत्याउँदै आएको छ ।