प्रकृतिपूजक भनेर चिनिने किराँत समुदायको महान चाड साकेला टुँडिखेलमा धुमधामका साथ मनाइएको छ । किराँत समुदायमा मङ्सिर पूर्णिमादेखि १५ दिनसम्म उधौली र वैशाख पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौली मनाउने चलन छ ।
उधौली पर्व मा किरात राइहरुले मनाउने साकेला आज टुँडिखेलमा धुमधामका साथ मनाइएको हो । प्रदेश १ का मुख्यमन्त्रीले आज साकेलाको उद्घाटन गरेका हुन् ।
वर्षको दुईपटक मनाइने साकेला चाडको उधौलीमा अन्नको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गरिन्छ । कुखुराको भाले, चोखो जाँड, रक्सी, अदुवा, पहेँलो रङको चामललगायत सामग्री प्रयोग गरेर प्रकृतिको पूजा गर्ने प्रचलन रहेको किराँत राई बताउँछन् ।
उधौली र उभौलीमा किराँत राईहरुको प्रत्येक घरमा तीन चुल्हा पुज्नाका साथै साकेला स्थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ ।
छितको गुन्यु मखमलको चोली, पहेंलो पटुकी, दौरा सुरुवाल, ढाका टोपीलगायत किराँती मौलिक वेषभूषामा सजिएर हरेक किराँत राईको घरघरमा नाच्दै गाँउदै हर्षोल्लासका साथ मनाइने यो चाडमा किराँत समुदाय मात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत सहभागी हुने गरेका छन्
साकेला उधौली पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, ईलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ । साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा मानाउने गरेका छन् ।
अन्नबाली लगाउने समय अर्थात बैशाख पूर्णीदेखि उभौली र अन्न भित्र्याउने बेला अर्थात मङ्सिर पूर्णिमादेखि उधौली चाड मनाउने चलन छ । चराचुरुङ्गी बेंशीतिर झर्ने र लेकतिर जाने याममा मनाइने यो चाडमा आफन्तजन, चेलीबेटीलगायत भेला हुने र दुःख सुखका कुरा गर्ने चाडका रुपमा पनि लिइन्छ ।