दोस्रो पटक पनि एभीसी सेन्ट्रल जोन भलिबलको ऐतिहासिक सफलता हासिल गरेको नेपाली महिला भलिबल टोलीलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनीहरूको स्वागतको लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफै विमानस्थलमा पुगेका थिए ।
ढाकाबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल झरेको टोलीलाई स्वागत गर्न मन्त्री गहतराजसहित नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, उपाध्यक्ष निरोज मास्केको टोली स्वागत गरेको हो । नेपाली महिला भलिबल टोलीले यसअघि सन् २०१९ मा पनि सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।
विमानस्थलबाट खेलाडी तथा अफिसियललाई फूलमालाले सजिएको गाडीमा नगरपरिक्रमा गराउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिषसरमा दिउँसो १ बजे भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलमा पनि उनीहरूको स्वगतमा नेपाली परम्परागत, नेवारी बाजासहित भलिबल संघ पदाधिकारी, खेलाडी, प्रशिक्षक तथा खेलकर्मीको बाक्लो उपस्थित थियो ।
विमानस्थलमा स्वागत गर्दै मन्त्री गहतराजले खेलाडीलाई बधाई दिँदै अर्को प्रतियोगिताको लागि तयार भएर बस्न आग्रह गरे । बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले उज्वेकिस्तानलाई ३-२ को सेटमा हराएर दोस्रो पटक उपाधि भित्राएको हो ।
साविक विजेता नेपालले यसअघि बंगलादेशमै सम्पन्न पहिलो संस्करणको फाइनलमा माल्दिभ्सलाई सोझो सेटमा हराएर पहिलो पटक उपाधि हात पारेको थियो । हिजो (बुधबार) मात्रै मन्त्रीपरिषद्को बैठकले विजेता खेलाडीलाई पाँच, प्रशिक्षकलाई तीन र अफिसियललाई दुई लाख नगद दिने निर्णय गरेको थियो ।