सुदूरपश्चिम प्रदेशमा आज थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट ८९१ को नमूना परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
पीसीआर विधिमार्फत चार र एन्टिजेन विधिमार्फत चार जनामा सङ्क्रमण पुष्टि भएको हो । पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र एन्टिजेनबाट कञ्चनपुरका दुई र कैलालीका दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।
यसअघि बुधबार यस प्रदेशमा १३ जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच निको भएका छन् । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१२ को ज्यान गइसकेको छ ।