नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत महामन्त्री पदको लागि भैरहेको मतगणनाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भैरहेको छ । मंसिर २७ गते भएको निर्वाचनको मतगणना कांग्रेस मुख्यालय सानेपामामा चलिरहेको छ।
नेपाली कांग्रेसको दुई महामन्त्रीका लागि भएको निर्वाचनको सुरुवाती मतगणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् । उनलाई देउवा समूहका उम्मेदवार प्रदिप पौडेलले पछ्याइरहेका छन् ।
नेपाली कांग्रेसमा अग्रता लिइरहेका यी तिनै नेता लोकप्रिय मानिन्छन् ।
९०० मतगणना गर्दा गगन थापाले ५५९ मत प्राप्त गरेका छन् भने विश्वप्रकाश शर्माले ३५७ मत प्राप्त गरेका छन्।
त्यसैगरी प्रदीप पौडेलले ३०० मत, डा. प्रकाशशरण महतले २९७ र डा. मिनेन्द्र रिजालले १५३ मत प्राप्त गरेका छन्। त्यसैगरी महामन्त्रीका अर्का उम्मेदवार डा. राजराम कार्कीले ३१ मत प्राप्त गरेका छन्।
महामन्त्रीमा गगन र मिनेन्द्र शेखर कोइराला समूहबाट उम्मेदवार बनेका थिए भने प्रदीप र प्रकाशशरण शेरबहादुर देउवा समूहका उम्मेदवार हुन्। त्यसैगरी विश्वप्रकाश प्रकाशमान सिंह समूहबाट र राजारामले विमलेन्द्र निधि समूहबाट उम्मेदवारी दिएका थिए।
यसअघि सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन्।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनः निर्वाचित भइसकेका छन् ।