नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत बुधबार साँझबाट उपसभापतिको मतगणना थालिएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयमा जारी मतगणना राति १० बजेसम्ममा सक्ने तयारी निर्वाचन समितिको छ ।
तीन ठाउँमा मतगणना भइरहेकाले राति १० बजेसम्ममा नतिजा आइसक्ने कांग्रेस निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
सोमबार भएको मतदानमा उपसभापति दुई (२) पदका लागि विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, महेश आचार्य, सुजाता कोइराला, डा. चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्येश्वरी शाहले उम्मेदवारी दिएका छन् । मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।
सभापतिमा भने शेरबहादुर देउवा विजयी भइसकेका छन् ।