नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आफ्ना समर्थक र शुभेच्छुकसहित निधि सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।
‘मैले सभापतिमा उम्मेदवारी दर्ता गरेर आएको छु । मलाई जिताउन सबै महाधिवेशन प्रतिनिधिलाई आग्रह गर्छु,’ निधिले भने ।
निधिले सभापतिमा मात्रै उम्मेदवारी दर्ता गराएका छन् । उनले प्यानल नै खडा गरेका भने छैनन् । हरेक चार वर्षमा गर्नु पर्ने कांग्रेसको महाधिवेशन पटक-पटक सर्दै पाँच वर्ष नौ महिनापछि गर्न लागिएको हो।
केन्द्रीय समितिका पदाधिकारी र सदस्य, देशभरबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू, भातृ सङ्गठन र शुभेच्छुक सङ्गठनका प्रतिनिधिहरू र विदेशस्थित जनसम्पर्क समितिबाट समेत चुनिएर आएका समेत गरी करिब ४,७०० प्रतिनिधिले कांग्रेसको नयाँ नेतृत्व चयनमा भाग लिनेछन्।
को हुन् विमलेन्द्र निधि
विसं २०१३ सालमा धनुषामा जन्मिएका निधि कांग्रेसका चर्चित नेता महेन्द्रनारायण निधिका छोरा हुन्। कांग्रेसमा गान्धीवादी नेताको छवि बनाएका उनका पिता महेन्द्रनारायण कांग्रेसको महामन्त्रीसम्म भएका थिए।
२०२७ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्य हुँदै राजनीतिमा प्रवेश गरेका विमलेन्द्र निधि २४ वर्षको उमेरमै २०३६ सालमा नेपाल विद्यार्थी सङ्घको अध्यक्षमा चयन भए।
लामो समय कांग्रेस सभापति देउवालाई साथ दिएका निधिले १४औँ महाधिवेशनमा देउवालाई नै चुनौती दिने तयारी गरेको बताउँदै आएका छन्।
विसं २०५१ सालको मध्यावधि निर्वाचनमा धनुषाबाट सांसद निर्वाचित भएका निधि त्यसयताका अधिकांश निर्वाचनमा विजयी भए पनि पछिल्लो संसदीय निर्वाचनमा समाजवादी लोकतान्त्रिक पार्टीका नेता राजेन्द्र महतोसँग पराजित भएका हुन्।
२०५२ सालमा देउवा नेतृत्वको सरकारमा पहिलो पटक सामान्य प्रशासन मन्त्री भएयता उनी पटकपटक मन्त्री र उपप्रधानमन्त्री समेत भइसकेका छन्। कांग्रेसको विभाजनमा देउवालाई साथ दिएर कांग्रेस प्रजातान्त्रिकको महामन्त्री भएका निधिलाई देउवाले तीन वर्षअघि कांग्रेस उपसभापतिमा मनोनीत गरेका थिए।
निधिले गतिशील जनतासँग जोडिने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्ने पार्टीका लागि आफ्नो नेतृत्व आवश्यक रहेको अवधारणा अघि सारेका छन्।