नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा समूहमा पदाधिकारीका उम्मेदवारी छान्न आन्तरिक छलफल भइरहेको छ । शनिबार बिहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा छन् ।
बालुवाटारमा पदाधिकारीका दाबेदार नेताहरुसँग सभापति देउवाले छलफल गरिरहेको बुझिएको छ । देउवा आफै सभापतिमा उम्मेदवारी दर्ता गर्दै छन् भने बाँकी पदाधिकारीका उम्मेदवार छनोटमा छलफल केन्द्रित छ । उपसभापतिमा वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।
यता महामन्त्रीमा गृहमन्त्री बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण महत, नेता एनपी साउद, सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माको दाबी छ । यता नेता कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग जोडिने भएको छ । सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अगाडि सारेका छन् ।
तर देउवा पक्षका नेता प्रदीपलाई महामन्त्रीको उम्मेदवार भन्ने पक्षमा भने देखिएका छैनन् । पौडेललाई महामन्त्रीको उम्मेदवार बनाए एनपी साउद, विश्वप्रकाश शर्मा लगायतका नेता देउवा टीमबाट बाहिरिने खतरा बढेको छ ।
आज बिहान भृकृटीमण्डपमा १० बजेदेखि मनोनयन दर्ताका लागि समय तय गरिएको छ । मनोनयनमाथि दाबी विरोध सकेर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने कांग्रेसले जनाएको छ ।
कांग्रेसमा चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन् । निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ । पदाधिकारीतर्फ एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ ।
त्यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी जनजाति १५, खस आर्य १३, मधेसी नौ, दलित चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक अल्पसङ्ख्यकबाट एक, अपाङ्गताबाट एक सदस्य निर्वाचित हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनित गर्ने व्यवस्था छ ।