नबिल बैंकले ‘नबिल डिजिबैंक पोर्टल’ सार्वजनिक गरेको छ । काठमाडौंमा आज (बिहीबार) एक कार्यक्रम गर्दै बैंकले उक्त पोर्टल सार्वजनिक गरेको हो ।
‘नबिल डिजिबैंक पोर्टल’ मार्फत् बैंकका ग्राहकहरूले विभिन्न किसिमका सेवाहरू बैंकको शाखामा नपुगकीकन अनलाइनमार्फत नै प्राप्त गर्न सक्नेछन् ।
यस पोर्टलबाट अनलाइन फिक्स्ड डिपोजिट, डेबिट/क्रेडिट कार्ड अनुरोध, डेबिट कार्ड रिप्लेसमेन्ट, मर्चेन्ट अनबोर्डिङ र रिटेल/ एसएमई लोन आवेदन लगायत अनलाइन सेवा उपलब्ध छ । यसका साथै बैंकले आगामी दिनमा अन्य धेरै अनलाइन सेवाहरु थप गर्दै जाने योजना बनाएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले उक्त पोर्टलको शुभारम्भ गर्दै कम्प्युटराइज्ड बैंकबाट शुरु भएको यात्रा अब भने साच्चिकै डिजिटल बैंकको रुपमा विकास भएको बताए ।
विगत ३७ वर्षमा बैंकले विभिन्न कोशेढुंगा पार गर्दै ल्याएका विभिन्न उपलब्धी मध्ये नबिल डिजिबैंक पनि एक भएको शाहले बताए ।
सोही अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भिडियो प्रमाणीकरणबाट खाता खोल्न सकिने (भिकेवाइसी) र भर्चुअल आईकार्ड लगायतका थप दुई नया अनलाइन सेवाहरु समेत सार्वजनिक गरेका छन् । भीकेवाइसीको सुरुवातसंगै ग्राहकहरूसंग केवाइसी प्रमाणीकरणका लागि बैंकको शाखा पुग्ने वा अनलाइनबाटै बैंकलाई आवश्यक विवरण पेश गर्ने दुई विकल्प उपलब्ध भएको छ ।
त्यसैगरी, नबिल भर्चुअल आईकार्ड नबिल स्मार्टबैंक एप भित्र थप गरिएको सेवा हो । जसको माध्यमबाट ग्राहकले सजिलैसंग आफ्नो प्यान अपलोड गरेर भर्चुअल आईकार्डका लागि आवेदन दिन सक्नेछन् । साथै, ब्यालेन्स टप–अप पनि गर्न सकिन्छ ।
भर्चुअल आईकार्ड (भारतिय रुपैया बाहेक) ई–कारोबारका लागि पनि प्रयोग गर्न सकिन्छ ।
कार्यक्रममा सोधिएका प्रश्नहरूको उत्तर दिने क्रममा शाहले जुनसुकै देशमा बसेको नेपालीले पनि अब अनलाइनबाट खाता खोल्न सक्ने र आफूले विदेशमा कमाएको रकम खातामा जम्मा गर्न सक्ने बताए । यसले विशेषगरी बैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई आफूले कमाएको रकम बचत गर्न सहज हुने विश्वास लिइएको छ ।