राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका हुन् ।
निर्वाचनको अन्तिम मत परिणाम औपचारिक रुपमा घोषणा हुन बाँकी नै छ । लिङ्देनले थापालाई १०० बढी मतले जितेका हुन् ।
निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् । प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।
अबको केही समयपछि नै राप्रपाले औपचारिक रुपमा नयाँ नेतृत्व पाउने छ ।
राप्रपाको १ सय ९९ सदस्यीय कार्यसमितिमध्ये मतदानबाट अध्यक्षसहित एक सय ४९ सदस्य चुनिने छन् । बाँकी ५० जना अध्यक्षले मनोनित गर्ने राप्रपाको संशोधित विधानमा उल्लेख छ ।
समावेशीसहित १४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दिएका छन् । आठ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ ।