अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिइ मनाइने छठ पर्वका लागि काठमाडौंको गौरिघाट सिंगारिएको छ ।
सूर्यको उपासना गरेर हिन्दू धर्मावलम्बीले चार दिनसम्म मनाउने सोमबारबाट सुरु भएको हो । विशेष गरेर तराईमा मनाइने छठ पछिल्लो समय देशका विभिन्न स्थानहरूमा मनाइने गरिएको छ । आज (मङ्गलबार) दोस्रो दिन हो ।
छठको दोस्रो दिन ब्रतालुहरू खरना मनाउँछन् । दिनभर ब्रत बसेर बेलुका नैवेध चढाई सख्खर हालेर बनाएको खीर, मुला, केरा खानुलाई खरना भनिन्छ । छठमा चार दिनसम्म सूर्यको पूजा आराधना गरिन्छ । ब्रतालुले उदाउँदै र अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएर पूजा गर्छन् ।
छठको दोस्रो दिन ब्रतालहरू दिनभर ब्रत बसेर साँझ एक छाक खाने गर्छन् । एक छाकमात्र भोजन गर्नुको कारण, छठको दिन अर्थात् भोलिपल्ट दिनभरि पानीसमेत नपिई निराहार व्रतको पूर्वाभ्यास पनि हो । चार दिनसम्म कठोर व्रत बसी सन्तानको प्राप्ति, दीर्घायु, आरोग्य र मनोकामना पूर्ण गर्नका लागि यो पर्व मनाइने गरिन्छ । यस पर्वमा षष्ठी माता र सूर्यको पूजा गरिन्छ ।
छठका लागि नदी, तलाउ महत्त्वपूर्ण मानिन्छ । किनकि, यसमा पुजिने सूर्य र जल दुवै आदि शक्ति मानिन्छन् ।
तस्विरमा हेरौं काठमाडौंको गौरिघाटमा छठको अन्तिम तयारी ।