यो साल काग तिहार र कुकुर तिहार एकैदिन मनाइएको छ । बुधबार अर्थात् कात्तिक कृष्ण चतुर्दशीको दिन हिन्दु धर्मावलम्बीहरुले काग तिहार र कुकुर तिहार मनाएका छन् ।
सामान्यतया कात्तिक कृष्ण त्रयोदशीको दिन काग तिहारसँगै यमपञ्चक सुरु हुने र दोस्रो दिन कुकुर तिहार पर्ने गर्छ । काग तिहारकै दिन साँझ यमदीप दान गर्ने गरिन्छ । चतुर्दशीको दिन सूर्योदय पूर्व नरक नुहाउने र सूर्योदयपछि कुकुरको पूजा गर्ने गरिन्छ । तर यो साल मंगलबार यमदीप दान गरियो भने बुधबार काग र कुकुरको पूजा गरिने छ । बिहीबार बिहान नरक नुहाइने गरी तिथि निर्देश भएको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ ।
कुकुर तिहारका दिन कुकुरलाई मनपर्ने खाना खान दिएर फूलमाला लगाइ पूजा गरिन्छ । कुकुरलाई पनि यमदूतको रूप मानिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
कुकुर आज्ञापालक जनावर हो । घरको रेखदेखदेखि भेडाबाख्रा र घरपालुवा जनवारको सुरक्षामा समेत कुकुरलाई प्रयोग गरिँदै आइएको छ । संसारमा सबैभन्दा बढी घरपालुवाको रुपमा समेत कुकुर रहेको छ ।
प्राकृतिक प्रकोप जस्तै भूकम्प, पहिरो आउनुपूर्व कुकुरलाई सूचना हुने विश्वास छ । यो विश्वासलाई वैज्ञानिकहरूले समेत पुष्टि गरिसकेका छन् । कुकुरको महत्वलाई धार्मिकशास्त्रसँग जोडेर हेर्दा पाण्डवहरू स्वर्ग जाने बेलामा युधिष्ठिरले कुकुरलाई पनि सँगै लिएर गएको कथा महाभारतमा उल्लेख छ ।
नेपाली सेना र नेपाल प्रहरीले पनि तालिम प्राप्त कुकुरको पुजा गर्दै उनीहरुसँग फोटो खिचाएका छन् ।
तस्विरमा हेर्नुहोस् मध्यपुरथिमि स्थित भैरब बहान गुल्ममा मंगलबार यमपञ्चकको दोस्रो दिन कुकुर पूजा गर्दै नेपाली सेना ।