‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहीबार साँझ दरबारमार्ग स्थित होटेल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्प वाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भविष्यको उद्देश्य राखेका थिए ।
प्रतियोगितामा १६ बाट अव शीर्ष १० छानिनेछन् । छनौटका लागि ५० प्रतिशत अङ्क प्रतियोगीले बनाएको भिडियो र ५० प्रतिशत भोटिङबाट हुनेछ ।
प्रतियोगिताको ग्राण्ड फिनाले यही अक्टोबर ३० अर्थात् १३ कार्त्तिक शनिवार आयोजना हुनेछ । प्रतियोगिताको शीर्ष विजेताले १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् । गतबर्ष ‘मिस युनिर्भस’मा नेपालको प्रतिनिधित्व ‘मिस युनिभर्स नेपाल २०२०’ की विजेता अंशिका शर्माले गरेकी थिइन् ।