सुजित सरकारले बलिउडमा निर्देशकका रुपमा आफ्नो छुटै पहिचान बनाइसकेका छन् । सुजितले विक्की डोनर, मद्रास क्याफे, पिंक, अक्टोबर, पिकु जस्ता फिल्म निर्देशन गरिसकेका छन् । नेशनल अवार्ड विजेता सुजितले यसपटक जलियावाल बागको घटनामा आधारित रहेर फिल्म निर्देशन गरेका छन् ।
उक्त घटनाको बदला लिने सरदार उद्धम सिंहको जीवनीमा आधारित रहेर उनले ‘सरदार उद्धम’ फिल्म निर्देशन गरेका छन् । सरदार उद्धम सिंहको भूमिकामा सुजितले इरफान खानलाई अफर गरेका थिए ।
पिकुमा काम गरेपछि इरफानको अभिनयसँग प्रभावित सुजितले उनलाई स्टोरी समेत सुनाएका थिए । यद्यपि, इरफानले यो संसार छाडेर गएपछि उनले विक्की कौशललाई भूमिका दिएका हुन् ।
‘इरफान मेरो लागि बेस्ट थिए तर उनी अब छैनन्’ सुजितले भने ‘यद्यपि, विक्कीले पनि आफुलाई शसक्त रुपमै अगाडी सारेका छन् ।’
यस्तै , अभिनेता विक्की कौशलले पनि इरफानले गर्ने भूमिका गर्न पाउँदा खुशी व्यक्त गरे । ‘इरफान सरले गर्ने भूमिका त मैले गर्न सकेको छैन यद्यपि, कोशीश भने गरेको छु’ विक्कीले भने । उनले आफु इरफानले निर्वाह गर्ने भूमिकाको फ्यान रहेको बताए ।
यस्तै इरफान पत्नी सुतपा खानले पनि बिक्कीले इरफानलाई न्याय दिलाएको बताएकी छिन् । उनले बिक्कीको कामबाट आफु सन्तुष्ट भएको बताएकी हुन् ।