अख्तियारमा दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि विराटनगर महानगरपालिकाले बनाउँदै गरेको पार्क निर्माणको काम ढेड महिनादेखि अवरुद्ध बनेको छ । विराटनगर–९ मेनरोडस्थित ‘बी’ प्लटमा निर्माणाधीन पार्क लामो समयदेखि अवरुद्ध बनेको हो ।
केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय इटहरीमा गुणस्तरहीन काम गरिएको भन्दै उजुरी परेको थियो । स्थानीयले नै पार्कको निर्माण कार्य मापदण्डविपरीत भएको भन्दै अख्तियारमा उजुरी दिएपछि झण्डै डेढ महिनायता पार्क निमार्णको कार्य अगाडि बढ्न सकेको छैन ।
तथापि, उजुरी परेपछि पनि पार्कको गुणस्तर जाँच र निरीक्षणका लागि टोली आइसकेको छैन । टोली नआइसकेकाले पार्कको थप निर्माण कार्य अगाडि बढाउन नसकिएको विराटनगर महानगरपालिकाका सहरी विकास तथा योजना महाशाखा प्रमुख गोपाल पोखरेलले जानकारी दिएका छन् ।
‘नगरसभाको म्यादअनुुसार मङ्सिर मसान्तभित्र पार्क निर्माणको काम सम्पन्न भइसक्नु पर्ने होे । तर अख्तियारमा मुद्दा परेका कारण अन्तिम चरणमा रहेको उक्त पार्कको निर्माण कार्यलाई पूर्णता दिन सकिएको छैन । काम मापदण्डअनुसार नै गरिएको छ । यद्यपि, मुद्दा परेका कारण हामीसँग पर्खिनुबाहेक अन्य विकल्प छैन,’ उनले भने ।
हालसम्म ८० प्रतिशत निर्माणको काम भएको उनको अनुमान छ । सहर बजार क्षेत्रमा ‘ओपन स्पेस’ हुनुपर्छ भन्ने अवधारणासहित २०७६ असार १७ गते निर्माण सम्झौता गरिएको थियो । आर्थिक वर्ष २०७५–०७६ को नगरसभाले विराटनगरको कोर एरियामा ग्रिनपार्क निर्माण गर्ने निर्णय गरेको थियो । नगरसभाको निर्णयबमोजिम २०७६ असार १७ गते कुल ८३ लाख ८१ हजार दुई सय ६७ रुपैयाँको लागतमा पार्कको निमार्ण सम्झौता गरिएको थियो ।
प्रदेश सरकारको ४८ लाख, महानगरको २९ लाख ९६ हजार दुई सय ६७ र उपभोक्ता समितिको पाँच लाख ८५ हजारको लागतमा पार्कको निमार्ण सम्झौता गरिएको थियो । प्रदेश सरकारद्वारा विनियोजित बजेट असार मसान्तसम्म सक्नुपर्ने उल्लेख गरिएको थियो । तर प्रदेश सरकारले दिएको उक्त बजेट १३ दिनमा खर्च हुन नसकेर फ्रिज भएको थियो । पछि म्याद थपसहित २०७७ असार १५ भित्र निर्माण सम्पन्न गर्नेगरी कुल ३५ लाख ८१ हजार दुई सय ६७ रुपैयाँको लागतमा पार्कको निमार्ण सुरु गरिएको हो । पार्क निर्माणको ठेक्का पाएको उपभोक्ता समितिले भने विराटनगर महानगरपालिबाट २०७६ असोज २९ मा नै १८ लाख ११ हजार ५ सय ६८ रुँपैया भुक्तानी लगिसकेको छ ।
अब, चालु आर्थिक वर्षको नगरसभाले निर्माण सम्पन्न हुन बाँकी सबै योजनाहरू मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने एकमुष्ठ निर्णय गरेसँगै निर्माण कम्पनीलाई दबाब आइपरेको छ । अझ, पार्कको गुणस्तर जाँच र निरीक्षणका लागि टोली आइनसकेका कारण बी प्लटमा निमार्णाधीन उक्त पार्कले समयमै पूर्णता पाउने सम्भावना न्यून रहेको पोखरेलको भनाइ छ ।