आजबाट पुष्प व्यापार मेला सुरु भएको छ ।
पुष्प व्यसायीहरुको संस्था नेपाल फ्लोरीकल्चर एशोसियसन (फ्यान)को आयोजनामा १४ औँ गोदावरी पुष्प मेला आयोजना भएको हो ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ हुने पुष्प मेला कार्त्तिक १५ गतेसम्म चल्ने छ ।
पुष्प व्यवसाय प्रवर्द्धन एवं गुणस्तरीय उत्पादनमा टेवा पुर्याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको फ्यानका अध्यक्ष मीनबहादुर तामाङले बताए ।
मेलामा ४४ वटा स्टल र ४ वटा सूचना मूलक व्यावसायिक स्टल रहने छन् । मेलामा करिब ३५ हजार उपभोक्ताले अवलोकन गर्ने र फूलको कारोबार ५० लाख रुपैयाँ हाराहारी हुने अनुमान गरिएको अध्यक्ष तामाङले बताए ।
प्रदर्शनीमा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हुँदै आएका विविध जातका गोदावरी फूल विरुवाका साथै यस वर्ष भित्रिएका गोदावरी फूलका केही नयाँ प्रजातिका फूल विरुवाहरूको समेत प्रदर्शनी गरिएको छ ।
यसका साथै यस सिजनमा फूल्ने सयपत्री, मखमली तथा अन्य सिजनल फूल बिरुवाहरूको समेत प्रदर्शनी गरिएको छ । चार दिने मेलामा उत्कृष्ट हुने एक स्टललाई नगद तथा प्रमाणपत्र प्रदान गर्नेसमेत एसोसिएसनले जनाएको छ । यस वर्ष विभिन्न विधामा गरिने प्रतिस्पर्धात्मक प्रदशनी भने नहुने एसोसिएसनले जनाएको छ ।
हरेक वर्ष तिहार पर्वलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला कोरोना भाइरसका कारण गत वर्ष भने स्थगन गरिएको थियो । नेपालमा हाल १ सय ५७ हेक्टर क्षेत्रफलमा व्यावसायिक रुपमा पुष्प खेती हुने गरेको छ ।
प्रदर्शनीमा प्रवेश गर्न एकसय रुपैयाँ र विद्यार्थीलाई ५० रुपैयाँ शुल्क लाग्ने छ ।
थप तस्विरहरू