विशेष अदालतले आन्तरिक राजश्व विभागका तत्कालिन महानिर्देशक चूडामणि शर्मासँग ५० लाख धरौटी माग गरेको छ।
तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव चुडामणि शर्मासँग विशेष अदालतले ५० लाख रुपैयाँ धरौटी माग गरेको हो ।
सोमबार विशेष अदालतका सदस्यहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले उनलाई ५० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको विशेष अदालतका रजिस्ट्रार अशोक क्षेत्रीले जानकारी दिए । उनका अनुसार शर्माले धरौटी रकम बुझाउने तयारी गरेका छन् ।
चार वर्षअघि चुडामणी शर्मा, कर फर्छ्यौट आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश प्रसाद ढकाल विरूद्ध अख्तियारले १ अर्ब ३३ लाखको भ्रष्टाचार मुद्दा लगाएको थियो।
शर्मासहितका पदाधिकारीले कर फर्छ्यौट आयोग ऐन, २०३३ को दफा १७ बमोजिम असल नियतले आफ्नो कार्य सम्पादन नगरी व्यक्तिगत लाभ हुने र राज्यलाई हानी नोक्सानी पुर्याई बदनियतपूर्ण काम गरेको स-प्रमाण पुष्टि भएको अख्तियारको दावी छ ।
सोही मुद्दाको प्रकृयामा सहभागी हुन शर्मा सोमबार उपस्थित भए। उनी उपस्थित भएपछि सोमबारै थुनछेक बयान र बहस भएको थियो।
भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ७ बमोजिम उनीहरूसँग सो बराबरको रकम बिगो र दफा ३ को उपदफा (१) र उपदफा (१) बोजिम कैद गरी जरिवानसमेतको सजाय माग गरिएको थियो।