
जनै पूर्णिमा र रक्षा बन्धन पर्व हरेक वर्ष श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमामा पर्दछ। तसर्थ यसलाई श्रावण पनि भनिन्छ। यो पर्वमा सनातन धर्मावलम्बीहरूले बिहान सबेरै उठी जलाशयमा गई पंचगव्य प्राशन गरी शरीरलाई शुद्ध बनाई गोबर खरानी माटो दतिवन,दुबो आदि विधिपूर्वक लगाई मन्त्र उच्चारण साथ नुहाउँदछन्।
यस दिन आफ्नो गुरु पुरोहित द्वारा डोरी नाडीमा बाँधिन्छ र पुरानो जनै फेरेर नयाँ लगाउने गरिन्छ अनि ब्रह्मालाई दक्षिणा पनि दिइन्छ भने तराईतिर यस दिन दिदीबहिनीले भाइ लाई धेरै राम्रो राखी बनाई बाँध्ने चलन पनि प्रचलित छ।
स्त्री जाति र अरू जातिले यस दिन खास रक्षा सूत्र मात्र बाँध्दछन्। जनै पूर्णिमा र रक्षा बन्धन का दिन क्वाँटी दान गरी क्वाँटी घरमा पकाई खाने पनि चलन छ , यसबाट बर्सात समयको निमित्त पौष्टिक तत्त्व प्राप्त हुनुका साथै वायु शमन भई स्वास्थ्य लाभ पनि हुन्छ।
यो पर्वमा भान्जा, ज्वाइँ, ब्राह्मणलगायतका मान्यजनहरूले रक्षा बन्धन लगाइदिने प्रचलन छ । नयाँ फेरिएको जनै र रक्षा बन्धनले धेरै कुराबाट सुरक्षित राखेर रक्षा गर्छ भन्ने धार्मिक किंवदन्ती छन्
रक्षा बन्धनका दिन बाँधिएको धागो निकालेर गाई तिहारका दिन गाईलाई माला उनेर लगाइदिने अथवा पुच्छरमा बेरी दिने चलन पनि छ । हिन्दु परम्परा अनुसार यसो गर्दा पुण्य प्राप्त हुने विश्वास रही आएको छ ।
जनै पूर्णिमा र रक्षा बन्धन को दिन जुम्लाको दान साँघु त्रिवेणी, काठमाडौँको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, रसुवाको गोसाईंकुण्ड जनकपुरधामको गङ्गा सागर तथा धनुष सागर आदि स्थानमा पवित्र स्नान गरी महादेवको पूजा अर्चना गर्न भक्तजनको ठुलो घुइँचो लाग्छ।
सत्ययुगमा दानवबाट पीडित देवगणको रक्षा गर्न गुरु बृहस्पतिले रक्षा बन्धन बाँधिदिएको सम्झनामा जनै पूर्णिमा पर्व मनाइने गरिन्छ । तर पछिल्लो समय नेपाली समाजमा नयाँ पुस्ताले भने भुल्दै जान थालेका छन् । उनीहरूले कि त जनै लगाउँदैनन् कि त सबै विधि पूरा गर्दैनन् ।
यसको सामाजिक र धार्मिक महत्त्व हुँदा हुँदै पनि आजभोलिका युवाले जनैमा विश्वास गर्दैनन् । यो अत्यन्त दुखको कुरा हो । पश्चिमा संस्कृतिले पनि नेपाली संस्कृतिलाई विस्थापित गर्दै लगेको छ । नेपाली परम्पराअनुसार मान्दै आइएका यी परम्परालाई पछिल्लो पुस्ताले ध्यान दिन सकेको छैन । अगाडिका वर्षमा धुमधुमका साथ मनाइने जनै पूर्णमा आजकाल भने सामान्य जस्तै बनेको छ ।
रक्षा बन्धन आधुनिक समाजमा आफ्नै दानव रुपी प्रवृत्तिलाई बाँधेर वा नियन्त्रणमा राखेर त्यसमाथि विजय हासिल गर्ने साङ्केतिक पर्व हो । पछिल्लो समय मानव पथ भ्रष्ट भएर गएको छ । कुविचार, कुसंस्कार, कुदृष्टिले मानवलाई दानव बनाइरहेको छ । गलत खानपान, रहन सहनले मानिस आफैँलाई नष्ट गर्दै छ ।
यसरी आफ्नै खराब प्रवृत्तिमाथि नियन्त्रण राख्नका लागि वा त्यसबाट सुरक्षित रहनका लागि रक्षा बन्धन बाँध्ने चलन चलाइएको हो । रक्षा बन्धन बाँधेपछि मन, बचन र कर्मलाई पनि पवित्र बनाउनुपर्छ । यो आत्म अनुशासनको एउटा विधि पनि हो । सांसारिक बन्धनदेखि छुटकारा लिएर ईश्वरीय बन्धनमा बाँधिने एउटा अवसर हो यो ।
रक्षा बन्धन यस्तो साङ्केतिक बन्धन हो, जसले मानवलाई नराम्रो काम गर्न, नराम्रो विचार राख्न, नराम्रो चिन्तन गर्न, नराम्रो खानपान गर्नबाट नियन्त्रण गर्छ । हरेक जसो पर्वलाई हामी विजयोत्सवको रूपमा पनि मनाउने गर्छौँ । रक्षा बन्धन पनि मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रूपमा मानिन्छ । सूत्र आत्माको मर्यादा र संयमको प्रतीक हो ।
सूत्र कुनै पनि वस्तुलाई अवच्छिन्न गर्ने वस्तु हो । रक्षा बन्धनको अर्थ अविचलित भएर पवित्रताको पालना गर्नु पनि हो । त्यसैले यसको अत्यन्त सामाजिक महत्त्व रहेको छ ।
यस्तो ठुलो चाडबाड जुन तागाधारी (आर्य) ब्राह्मण , क्षेत्रीय , वैश्य आदिले विधिपूर्वक नयाँ जनै फेर्ने साथै सबै अन्य वैदिक सनातन हिन्दुहरूले रक्षा डोरो बाँध्ने सनातनदेखि चलिआएको हिन्दु परम्परा मान्न सबै सरकारी कार्यालयहरूमा बिदा दिई धर्म संस्कृति जोगाउने परम्परा भइराखेको छ।
हामीले पनि हाम्रो धर्म संस्कृति र रीतिरिवाजलाई कहिले बिर्सनु हुँदैन। यस्ता चाडपर्वहरूले हाम्रो समाजमा निकै महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। समाजमा मनाइने चाडपर्वहरू ऐना जस्तै हुन् यसबाट अरूले पनि यो समाज के कसरी बसिरहेको छ भन्ने बुझ्न सक्छन् ।
पहिले देश अनि कला संस्कृति रीतिरिवाज र चाडपर्वहरू भए हामी निर्धक्कका साथ विश्व मानचित्रमा चिनिन सक्छौ । त्यसैले हामीले मनाउने हरेक चाडबाडहरू तडकभडकका साथ देखावटी रूपमा नभएर परम्परागतता जसरी मनाइन्छ त्यसरी मनाउन सक्नुपर्दछ।