कलम क, खरायो ख भन्दै गाउँको धुले स्कुलमा गुरुले २/३ फिटको आफू जत्रो सिर्कनोले हातमा हिर्काउँदै, भत्किएको कालो पार्टीमा जस्तो सेतो चकले धस्दै रटाएको कपुरी क र खरायो ख मेरो लागि वरदान भनौँ या अभिसाप ?
सिँगान पुच्दै तानमा बुनेको झोलामा भबिष्यमा ठुलो मान्छे बन्ने सपना देख्ने स्कुलको छानोभित्र छरपस्ट भएका हात्ती छाप चप्पल बजाउँदै पढेको अनि सिस्नो र ढिँडोको डकार गर्दै लिएको मेरो एउटा सपनाको शिक्षा आज साँच्चै सपना मै सीमित भयो ।
मेरो नाम प्रमोद गिरी। मेरो घर सहरमा हैन गाउँ मा छ त्यसैले रमाउने उमेरमा कमाउने प्रयत्न गर्दै छु।
एसएलसी सकिए पछि देशको निम्ति केही गर्छु नेपालमै भनेर सहर छिरि काठमाडौँमा पत्रकारिता पढ्न थाले, जेन तेन मैले प्लस टू पनि सकाए।म पत्रकारिता को बिध्यार्थी हु। पढे लेखेपछि जागिर खाइन्छ, ठुलो मान्छे भइन्छ भन्ने भनाइ आज मेरो लागि एकादेशको कथा जस्तै भएको छ ।
दोष कस्लाई दिऊ ? जहाँ म जस्तो हजारौँ युवाहरूको शिक्षा विदेशी खाडीमा गैती र बेल्चामा ७०/८० सेल्सियस तापक्रममा बेचिएको छ ।
५० देखि ६० लाख युवाहरूको शिक्षा केबल हरियो रंगले भरिएको राहदानी शीर्षकमा सीमित भएको छ । दिनानुदिन लाखौँ नेपाली युवाहरू राहदानी सर्टिफिकेट बोकेर सयदेखि डेढ सय बोक्ने हवाईजहाजमा परदेश धाएका छन् ।
पत्रकारिता पढेको हुनाले जागिर को लागि +२ को सर्टिफिकेट लिएर धेरै भौँतारिए , म सँग शैक्षिक ज्ञान मात्र थियो। जागिरको लागि त पावर पनि चाहिँदो रहेछ। मेरो पत्रकार भन्ने सपना जब टुट्यो तब म काम नपाएर होटेलमा भाडा माझ्न बाध्य भए।
जिन्दगी जेन तेन होटेल भित्र चलिरहेको थियो तर चीनको वुहानबाट सुरु भएको महामारी कोरोना नेपालमा पनि भित्रियो तब न जागिर थियो न त पैसा, आफ्नो आफ्ना भन्नेहरू पनि सबै सुखमा मात्र हुँदा रहेछन् भन्ने सुनेको मात्र थिए तर मलाई यो लकडाउनमा धेरै ले पाठ सिकाए।
घरको जेठो छोरो भएकाले सानै उमेर देखि रमाउन हैन कमाउन सिके। जब उमेर बढ्दै गयो तब आफ्नो सपना थाँति राखेर आफ्नो परिवारको सपना पुरा गर्नु पर्ने रहेछ। जब नेपालमा बसेर पैसा कमाउन सकिन, परिवारको सपना पुरा गर्न सकिन तब सर्टिफिकेट लाई पोको पारेर हरियो राहदानी बनाए तब मेरो सपना पनि पोको परेछ।
नेपाल सरकार लाई मेरो प्रश्न के मेरो देशको कपुरी क, खरायो ख रट्नु गलत थियो ? के मेरो देशको युवाहरूको जन्मजात अर्काको देशको गुलामी बन्नु पर्छ भन्ने नेपाली पाठयक्रमा समावेश गरिएको थियो र ? के नेपाली युवाहरू सदा अर्काको देशमा आफ्नो श्रम बेचेर आफू बेचिएर, पराईको आँगन कुरेर देशको रेमिट्यान्स धानिदिनु पर्ने भनी संविधानको कुनै धारामा समेटिएको थियो र ? किन, मेरो शिक्षाले मेरै देशमा बसेर श्रम गरेर मेरो भोक पेट पाल्न सकिन ? किन, परिवारको खुसी फुलाउन सकिन ?
आफ्नो मेहनतको पढाइले आएको सर्टिफिकेट बोकेर जागिर खान धाउँदा नपाएको जागिर हरियो राहदानी बोक्दा त केही समयमै मैले विदेश पठाउने म्यानपावर भेटाए अहिले प्रोसेस अगि बढेको छ। देशमा भएको युवाहरूलाई देशमै जागिरको व्यवस्था गर्न कठिन हुँदा आफ्नो देशको नागरिक को पसिना मेहनत विदेशमा गएर बगाउन भने देशले सहयोग गर्दो रहेछ। आफ्नो र परिवार को भविष्य त्यो देश पारि मरुभूमिमामै रहेछ।
किनकि मेरो शिक्षाको गुणस्तर भन्दा त्यो हरियो रङ्गको एक हरफ शिक्षाको सर्टिफिकेटको गुणस्तर प्रशस्त भइदियो । मेरो यो शिक्षा ग्रहण गर्नु रहर हैन बाध्यताको सिकार भएको हुँ । अझ पनि देशलाई सुन्दर र विकासको बाटोमा डोर्याउने कैयौँ युवाहरूको हक, हित अधिकारलाई समेटिएको छैन । देशको खम्बा भनिएका युवा लाई बलियो बनाउनु पर्ने अवस्थामा अझ कमजोर र झिनो बनाउने मेरो शिक्षा कहिले परिवर्तन होला ? कहिले उदाउला ५०/६० लाख परदेसिएका युवाका मुहारमा सुनौलो बिहानी ।
कहिले निको होला त, यो भयानक भाइरल रोग जस्तै हरियो रङ्गको सर्टिफिकेट बोकेर लामा लस्कर सहित सानो झोलाभित्र खुसी र चाहानाहरू, परिवार र देशको माया चिरिप्प पारेर धकेलिएका नेपाली युवाहरूको भाइरल रोग ? कठै ! मेरो देशको असली सर्टिफिकेट यही राहदानी रहेछ ।