कञ्चनपुरको गौरीफन्टा नाकामा अर्को एक नेपालीको मृत्यु भएको छ । भारतको वनगाउँबाट आफन्त भेटेर आएका कञ्चनपुरको बेदकोट नगरपालिका –२ रौतेली बिचुवाका ५५ वर्षीय रामदिन रानाको नाकामै मृत्यु भएको हो ।
बनगाउँबाट आएर नाकामा भेटिएका आफन्तसंग उभिएर कुरा गरिरहेकै बेला एक्कासी बेहोस् भनेर ढलेपछि उनको मृत्यु भएको कञ्चनपुरको परासन प्रहरी चौकीका हवल्दार परमानन्द जोशीले जानकारी दिए । ‘वन गाउँ जान लागेकी दिदी सासुसंग नाकामै भेट भएको रहेछ,’ उनले भने, ‘भेट भएर कुरा गर्न सुरु गर्दागर्दै ढलेर बेहोस् भएको रहेछन् ।
हर्टअट्याक भएर मृत्यु भएको हो कि ?’नाकामै ढलेर बेहोस् रानालाई सेती प्रादेशिक अस्पतालमा पुर्याएपछि चिक्सिकले मृत घोषणा गरेको प्रहरी हवल्दार जोशीले बताए । उनको शव अहिले अस्पतालमै राखिएको छ भने घटनाबारे आफन्तलाई खबर गरिएको उनले बताए ।
गौरीफन्टा नाकामा दुई दिनअघि पनि भारतबाट आएका एक नेपालीको मृत्यु भएको थियो ।