जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । मङ्गलबार राति भएको फाइनल खेलमा बोरुसिया डर्टमुन्डमाथि ३–१ गोलको जित निकाल्दै बायर्नले उपाधि जितेको हो ।
डर्टमुन्डको मैदानमा भएको खेलमा बायर्नलाई जिताउन पोल्यान्डका फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे भने थोमस मुलरले एक गोल गरे । डर्टमुन्डका मार्को रेउसले एक गोल गरे ।
खेलको ४१औँ मिनेटमा गोल गर्दै लेवान्डोस्कीले बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।
रेउसले ६४औँ मिनेटमा गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काउने प्रयास गरे । तर ७४औँ मिनेटमा मुलरले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई उपाधि जिताए ।
यससँगै बायर्नले सर्वाधिक धेरै नवौँ पटक जर्मन सुपर कपको उपाधि जितेको छ । डर्टमुन्डको सातौँ पटक उपाधि जित्ने सपना भने साकार हुन सकेन । डर्टमुन्ड ६ पटकको उपाधि विजेता हो ।