महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल जोड्ने पहुँच मार्ग बाढीले बगाएपछि निर्माण कार्यमा समस्या उत्पन्न भएको छ । महाकाली नदीमा असारको पहिलो साता आएको बाढीले पुलसम्म जोड्ने पहुँच मार्ग बगाउँदा पुल निर्माणमा समस्या भएको हो ।
‘पुल निर्माण कार्य जारी नै छ, तर पुल जोडने पहुँच मार्ग बाढीले बगाउँदा पुल निर्माणमा समस्या भएको छ,’ पुल निर्माण कम्पनी कुमार सीएफईसी जेभीका म्यानेजर तथा इन्जिनियर किशोर पाण्डेले भने, ‘अहिले बाटो नहुँदा पुल निर्माणका लागि चाहिने सामाग्रीहरू तुइनको माध्यमबाट पारि लैजाने गरेका छौँ । अलिअलि भए पनि काम भइरहेको छ ।’
गड्डाचौकीस्थित भारतको बनवासा जोड्ने पुल भए पनि त्यहाँबाट भारतीय पक्षले निर्माण सामाग्री लैजान नदिएको उनले बताए । ‘पारि सामान लैजाने अन्य विकल्प नहुँदा निर्माणाधीन पुलमै तुइन बनाएर त्यसकै माध्यमबाट निर्माण सामाग्री लैजाने गरिएका छौँ’ उनले भने ।
तुइनबाट सरिया, सिमेन्ट, बाइन्डिङ तार, कामदारका औजारलगायत सामग्री पारि पठाइने गरिएको म्यानेजर पाण्डेले बताए । ‘अहिले यसै गरी काम चलिरहेको छ,’ उनले भने, ‘नदीमा पानी कम भएपछि पुलको दुबैतिर ड्याम बाँधेर ग्राभेल हालेर फेरि पहुँच मार्ग बनाउँछौँ । तब सम्मका लागि पुलबाट आवतजावत नै बन्द हुन्छ ।’ बाटो निर्माणको काम तिहारपछि मात्रै हुने उनले बताए ।
‘बाढीले बाटो नबगाएको भए अहिलेसम्म स्वल्याब ढलानको काम सकिथ्यो’ उनले भने । ‘पुलका ३२ मध्ये २८ स्वल्याब ढलान भइसकेको र बाँकी चार वटा स्वल्याब ढलानको तयारी भइरहेको’ उनले भने, ‘स्वल्याब ढलानको काम दसैँ अगावै सक्ने योजना छ ।’ बाँकी स्वल्याब निर्माणका लागि आवश्यक निर्माण सामग्री तुइनबाट ढुवानी भइरहेको उनले बताए ।
कुमार सीएफईसी जेभीले तीन अर्ब २७ करोडमा पुल निर्माणको ठेक्का लिएकोमा पनि पछि संशोधित लागत तीन अर्ब ६६ करोड बनाइएको निर्माण कम्पनीले जनाएको छ ।
उक्त पुलको निर्माण म्याद २०७८ फागुन १५ गते सकिँदै छ । मिति सकिन करिब सात महिना बाँकी रहे पनि पुलको करिब ७७ प्रतिशतसम्म काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । ‘म्याद अवधि भित्रै बाटो र पुलको काम निर्माण सम्पन्न हुन्छ, ‘उनले भने तर पुलको दायाँ, बायाँ पोखरी निर्माण गर्नुपर्ने छ, ठुलो ढुङ्गा नभएकाले अहिलेसम्म काम भएको छैन त्यसैले समयमै काम नभ्याइन सक्छ ।’
‘आफूहरूले आठ किलो मिटर सडक कालोपत्रे पर्नुपर्ने हो, ‘उनले भने, ‘अहिलेसम्म तीन किलो मिटर सडक कालोपत्रे भएको र बाँकी पाँच किलोमिटर सडक समयमै सम्पन्न हुन्छ ।’ अबको दुईहहतीन हप्तामा बाँकी रहेको कालोपत्रे सडकको काम सुरु हुन्छ उनले भने । निर्माण कम्पनीले पुलको कामसँगै डाइभर्सनहरू बनाउँदा गत वर्षदेखि नै अस्थायी रूपमा पुलमा साना तथा ठुला सवारी आवागमन सुरु भएको थियो ।