जीर्ण बनेको जिल्ला कारागार कैलालीको अवस्थामा सुधार आउन थालेको छ । यही असार १६ गते सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले कारागारको निरीक्षण तथा अनुगमन गरेकी थिइन् ।
अनुगमनका क्रममा कारागार भित्र भौतिक संरचना अभाव, खानेपानीको समस्या लगायत विभिन्न समस्याहरू रहेका र ती समस्याहरूको चरणबद्ध रूपमा समाधान गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।सोही प्रतिबद्धता अनुसार अहिले जिल्ला कारागार कैलालीको अवस्थामा केही परिवर्तन आउन थालेको बताइएको छ ।
मन्त्री जोशीले कारागार निरीक्षण गरेपश्चात् भौतिक संरचना निर्माणका लागि भन्दै आफूहरूले १० लाख आर्थिक सहयोग पाएको कारागारका जेलर महेन्द्र सिंह खड्काले जानकारी दिए । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्राप्त सहयोग रकमबाट आफूहरूले गेट मर्मत, भर्याङ निर्माण, कर्कट पाता, खानेपानी र भौतिक संरचनामा रङ्ग रोगन लगायतका कामहरू गरेको उनले बताए ।
पहिलेको भन्दा मन्त्री जोशीको अनुगमन र निरीक्षण पछि कारागारका केही समस्याहरू तत्कालको लागि समाधान भएको जेलर खड्काको भनाई छ ।‘पहिलेको भन्दा कारागारमा धेरै परिवर्तन भयो,’उनले भने,‘यस अगाडि अरूले निरीक्षणका क्रममा आएर आश्वासन मात्रै दिने गरेका थिए तर मन्त्री जोशीले केही भए पनि सहयोग गर्नु भयो ।’ साथै उनले अझै पनि मुख्य समस्या भौतिक संरचनाको रहेको बताएका छन् । भवन नहुँदा कारागारमा क्षमता भन्दा झन्डै तीन गुणा बढी कैदी बन्दी राख्नु परेको जेलर खड्काले बताए ।
क्षमता भन्दा धेरै कैदी बन्दी भएपछि कारागारमा उनीहरूलाई निकै समस्या भइरहेको छ । १५० जना कैदी क्षमता रहेको कैलाली कारागारमा अहिले ४ सय ७२ जना कैदी राखिएका छन् । ३६ जना महिला, ३ जना आश्रित बालबालिका र ४ सय ३३ पुरुष गरी ४ सय ७२ जना कारागारमा छन् ।
क्षमताभन्दा बढी कैदी भएकाले कतिपयलाई पाल टाँगेर राख्नुपर्ने बाध्यता रहेको उनले दुखेसो गरे ।विक्रम सम्वत १९९७ मा बनेको कैलाली कारागार जीर्ण अवस्थामा पुगेको छ ।तेब्बर कैदी भयसँगै उनीहरूको व्यवस्थापन र सुरक्षामा चुनौती थपिदैं गएको छ ।
भौतिक संरचना निर्माणका लागि स्टमेट बनाएर कारागार व्यवस्थापन विभागलाई माग गरे पनि अहिले सम्म भने कुनै पनि सुनुवाइ नभएको कैलाली कारागारका जेलर खड्काको गुनासो छ ।