कैलालीको चिसापानीमा स्कारपियो गाडी कर्णाली नदीमा खसेको छ ।
उक्त गाडीमा सवार दुई जना नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ ।‘पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएको खबर आएको छ,जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले केटिएम दैनिकसँग भने,‘बेपत्ताको खोजी भइरहेको छ।’
डोटीको आदर्श गाउँपालिकाका चन्द्रप्रकाश जोशीले चलाएको स्कारपियो चिसापानीदेखि सोल्टा जाने सडक खण्डको बाँकामा पल्टिएको प्रहरीले जनाएको छ।
जोशी आफ्नो परिवारसहित नेपालगञ्जबाट उपचार गरेर घर फर्किने बेला चिसापानी घुम्ने क्रममा स्कारपियो कर्णालीमा खसेको हो। गाडीमा सवार १२ बर्सिया लक्ष्मी जोशी, ४ बर्सिया सावित्री जोशी र ३ वर्षीय भुवन जोशीको उद्धार गरिएको छ भने चन्द्रप्रकाश र रुपी जोशी बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी अधिकारीले केटिएम दैनिकलाई बताए।
प्रहरीका अनुसार घटनास्थलमा भेटिएको कागजपत्रमा गाडी नम्बर बा ११ च ९३८ नम्बर उल्लेख भएको छ।