बझाङमा एक पुरुषको मृत्यु भएको छ। ग्वाल्लेक निर्माण सेवामा कार्यरत धनगढीका ४२ वर्षीय डोजर चालक सेवाकान्त आचार्यको मृत्यु भएको हो।
धनगढी उपमहानगरपालिका –१८ फुलवारीका आचार्यको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। ‘सेती नदीमा बालुवा लोड गर्ने क्रममा एक्कासी बेहोस भएका रहेछन्,’ जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काले भने, ‘उपचारका लागि जिल्ला अस्प्तालमा पुगाइएको थियो। अस्पतालमै मृत्यु भएको हो।’
यता मृतकका आफन्तले भने डोजर दुर्घटनामा मृत्यु भएको बताएका छन्। उनीहरुले शरिरमा चोटपटक देखिएको बताउँदै दुर्घटनामा मृत्यु भएको बताएका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक खड्काले पोष्टमार्टम रिपोर्ट आएपछि सबै कुरा खुल्ने बताए।