सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित भएका ३८ वर्षीय मनबहादुर घलेले १७ वर्ष इन्डियन आर्मीमा जागिर खाए । नेपालमा दुई सन्तानसहितको परिवार छोडेर अर्को देशका लागि लड्दै गर्दा पनि उनलाई पुग्दो थियो । महिनाको ७० हजारसम्म कमाइ हुन्थ्यो, महिनैपिच्छे पैसा घर पठाउँदै पारिवारिक व्यवहार टालटुल गर्न सकेकै थिए ।
मनबहादुरसँगै जागिर खाँदै थिए, उनका दाजु कृष्णकुमार घले (४०) । उनी पनि दुई सन्तानसहित पत्नीलाई छोडेर छिमेकी मुलुकको सुरक्षाका लागि खटिएका थिए । दिन–रात गोरुजस्तै अर्काको देशमा खटिनुपर्ने परिस्थितिलाई नकार्दै दुवै दाजुभाइले १७ वर्षमै डिस्चार्ज लिए । कृष्णले २०१८ साल जुलाईतिर जागिर छोडेर घरतिर हिँडेपछि मनबहादुरको पनि मन अडिएन । र, २०२० को जनवरीमा उनी पनि स्वदेश हानिए ।
२४ वर्ष भारतीय सेनाको जागिर खान मिल्ने भए पनि एकबारको जुनी परिवारसँगै बिताउने मनसाय लिएर उनीहरूले लिखित रूपमा राजीनामा दिएर र स्वदेशतर्फ हानिए । स्वदेश फर्किएपछि दाजुभाइले एकै ठाउँमा किनेको खेतमा कागती लगाउने विचार भयो । भारतमा सेनाको जागिर खाँदै गर्दा किनेको रामधुनी नगरपालिका–७ रानीपोखरीमा रहेको एक बिघा जग्गाको सदुपयोग गर्ने मनसायका साथ उनीहरूले कागती खेती थाल्ने विचार गरे ।
भाइ स्वदेश फर्किनसकेका कारण दाइ कृष्णले काका कृपासुरसँग मिलेर कागती खेती थाले । ५८ वर्षीय कृपासुर पनि भारतीय सेनाबाट अवकाश लिएर घर फर्किएका थिए । उनले पनि रानीपोखरीमा ११ कठ्ठा जमिन जोडेका थिए । कृपासुरले भने आधा जमिनमा कागती तथा आधा जमिनमा नमुनाका लागि ड्रागनका बोट लगाए । काका–भतिजा मिलेर ठुलो अपेक्षाका साथ कागती खेती थालेका थिए ।
तीन वर्षसम्म कागती फल्छ र बेचौँला भनेर कुरेका उनीहरूको समय र लगानी खेरै गयो । त्यसपछि उनीहरूले कागतीका सबै बोट नष्ट गरेर ड्रागन फ्रुट्स लगाए । काका कृपासुरले पनि विस्तार गरेर ११ कठ्ठामा ड्रागन खेती थाले ।
कृष्ण र मनबहादुरले बङ्गुर पालनका लागि १६ वटा बङ्गुर र एउटा वीर पनि किने । जम्मा ३५ लाखको लगानीमा एक बिघामा ड्रागन खेती र बङ्गुर पालन सुरु गरेका उनीहरू ठुलो अपेक्षामा छन् । अपेक्षाअनुरूपकै फल लागेका कारण उनीहरूको मनोबल अझ बढेको छ । पहिलो सिजन बोटभरि ड्रागन फ्रुट्स लागेपछि घर–गाउँमा बाँड्ने तथा स्थानीय स्तरमै बेच्ने गरेका छन् ।
उनको घर र फर्मबिचको दुरी चार किलोमिटर छ । दिनभरि फर्ममा व्यस्त भएका उनीहरू सुत्नका लागि घर पुग्छन्, अन्यथा उनीहरूको दिनचर्या फर्ममै बित्ने गरेको छ । त्यसबाहेक फर्ममा खटिएका एक कर्मचारीलाई सघाउँछन्, त्यहाँ खेतीबारे बुझ्न आउने तथा बिरुवा किन्न आउनेलाई सिकाउनमा दिन बित्छ ।
अहिले ड्रागनको बोटभरि फल लागेको छ । टिप्दै बेच्न धमाधम छ । प्रतिकिलो सात सय रुपैयाँसम्ममा उनीहरूले बेच्ने गरेका छन् । बिरुवा उत्पादनको काम पनि धमाधम छ । बिरुवाको प्रतिगोटा दुई सय रुपैयाँ छ । यसबापतको रकम बचत गर्ने गरेका उनीहरूले आफ्ना सन्ततिलाई पढाउने–लेखाउने र ज्ञानसहित कृषि क्षेत्रतिर नै आकर्षित गराउने योजना बनाएका छन् ।
युट्युबको ज्ञान व्यवहारमा परिणत
कागती खेती असफल हुँदै गर्दा मनबहादुर युट्युबमा खुबै ड्रागन फ्रुट्सको विषय हेर्थे । उनले प्रत्यक्ष रूपमा तालिम लिएका थिएनन्, यसबारेमा सामान्यतया जानकार पनि थिएनन् । काका कृपासुरलाई काममा सघाउँदा लिएको अपूरो ज्ञान र प्राविधिक ज्ञानबिना ड्रागन फ्रुट्स खेती गर्नु जोखिमपूर्ण हुन्छ भन्ने मनमा लागेपछि युट्युबमा खोजी–खोजी भिडियो हेर्ने गर्थे, मनबहादुर । युट्युबको ज्ञान उनले व्यवहारमा परिणत गरे र उनी सफलताको सिँढी उक्लने क्रममा छन् ।
‘युट्युबबाट मैले प्राविधिक ज्ञान लिएँ’, उनी भन्छन्, ‘भारतबाट आउँदाखेरि नै मैले कागती मास्नेबारे सोचेको थिएँ । त्यहाँ हामी पूर्ण रूपमा असफल भइरहेका थियौँ । तर हार मानेनौँ, ठुलो लगानीमा ड्रागन नै गर्ने अठोटका साथ लागिपरेँ । धेरै होइन, भविष्यमा वार्षिक ६० लाख आम्दानी गर्ने अपेक्षा छ ।’
उत्कृष्ट किसान बन्दै कृपासुरले पाए सात लाख अनुदान
कृपासुरले सुनसरीमै पहिलो पटक ड्रागन फ्रुट्स खेती भित्र्याएका हुन् । पहिलो पटक ड्रागन फ्रुट्स गर्दा उत्कृष्ट ठहरिएका उनलाई प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालयले अनुदान उपलब्ध गराएको छ । प्रदेशसँग समन्वय गरेर जिल्ला कृषि ज्ञान केन्द्रले कृपासुरलाई सात लाख रुपैयाँ अनुदान उपलब्ध गराएको प्रदेश कृषि भूमि तथा सहकारी मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले जानकारी दिए । जिल्लागत रिपोर्ट नआए पनि प्रदेशभित्रका उत्कृष्ट केही किसानले अनुदान पाएको बताउँदै उप्रेतीले कृपासुरको फर्म नमुना फर्मलाई रूपमा अनुदान दिइएको बताए ।
पछिल्लो केही समययता नेपालमा ड्रागन फ्रुट्सको आकर्षण बढ्दो छ । नयाँपन, बजारको अभाव नहुने तथा जस्तोसुकै माटोमा पनि फल्ने भएका कारण नेपालमा ड्रागन फ्रुट्स लगाउने किसानको सङ्ख्या बढ्दो छ । ड्रागन फ्रुट्स लामो समयसम्म फल खान पाइने प्रजातिको फल हो । वैशाखदेखि फुल्नेक्रममा रहँदा मङ्सिरसम्म फल खान पाइन्छ । सिँचाइमा मात्र सन्तुलन गर्न सके अरू मेहनत पनि गर्नुपर्दैन ।
फूल फुलेको महिना दिनमा फल पाकेर खानयोग्य हुन्छ । फेरि यो फल टिपेर राख्दा १०–१५ दिनसम्म नबिग्रिने हुन्छ । गर्मी समयको जेठदेखि मङ्सिरसम्म मुख्य रूपमा फल दिने ड्रागन फुट्स वर्षमा चार लटसम्म फल्ने गर्दछ । यस फलमा फूल फुल्ने, कोपिला लाग्ने, फल फल्ने क्रम एक साथ चलिरहन्छ ।