एमालेमा विवाद समाधान गर्न बनेको विघठित कार्यदलका सदस्यहरू अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।
एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बिहान बसेको अनौपचारिक बैठकले अध्यक्ष ओली र नेता माधव नेपाललाई अलगअलग भेटेर पार्टी एकताका लागि पहल गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।
सो बमोजिम दिउँसो उपमहासचिव विष्णु पौडेल र नेम्वाङले अध्यक्ष ओलीलाई भेटेर बिहानको भेटघाटको जानकारी गराएका थिए ।
अध्यक्ष ओलीले साँझ ६ बजे नेताहरूलाई समय दिएपछि विष्णु रिमाल र रघुजी पन्तबाहेकका नेता बालकोट पुगेका थिए।
‘अध्यक्षलाई भेटेर हामीले करिब दुई घण्टा हाम्रा कुरा भन्यौं र अध्यक्षका कुरा सुन्यौं,’ नेम्वाङले भने, ‘कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न अध्यक्ष सकारात्मक रहेका छन्। माधव कमरेड पनि सकारात्मक भए कुरा टुंगिन्छ ।’