मोरङको कानेपोखरी गाउँपालिका वडा ३ को वडा भवन उद्घाटन हुनुभन्दा अगाडिनै चुहिएको छ । गत असार २७ गते सो नव निर्मित भवनको औपचारिक उद्घाटन समारोहका बीच ३ नं वडाका वडाध्यक्ष कीर्तिमान मादेनले सो नवनिर्मित भवनको छतबाट पानी रसाउने कुरा सार्वजानिक गरेका थिए ।
भवनको निर्माणाधीन अबस्थाबाटनै आफूले निगरानी गर्दै आएको र सो भवनको छतबाट पानी रसाउने कुरा थाहा भए पछि ठेकदार र सम्बन्धित इन्जिनियरलाई कुरा राख्दा कुनै पनि सुनुवाइ नभएको मादेनले सुनाए ।
कानेपोखरी गाउपालिकाका प्रमुख इन्जिनियर रन्जन निरौलाले सो भवनको निर्माणधीन अवस्थामा प्राविधिक पक्षबाट गर्नु पर्ने सम्पूर्ण कामहरू गर्दागर्दै पनि भवन रसाउनु दुर्भाग्य र संयोग भएको बताए । भवन निर्माणस्थलको भौगोलिक अवस्था र भवनको छत ढलाइ गर्दाको प्रतिकुल मौसमका कारण पनि सो भवनमा समस्या आएको हुनसक्ने इन्जिनियर निरौलाले सुनाए ।
कानेपोखरी गाउँपालिकाको वडा–३ स्थित जय नेपाल चौकमा नवनिर्मित एक तल्ले भवन निर्माणको लागि स्थानीय पुरुषोत्तम कन्ट्क्सनले ४९ लाख ५३ हजार ६ सय १४ रुपैयाँ ५२ पैसामा ठेक्का लिएको हो ।
भवन निर्माणको ठेक्का लिएको पुरुषोत्तम कन्ट्क्सनका मालिक पुरुषोत्तम सुवेदीले भवन निर्माणका समयमा केही कमजोरीका कारण भवनको छत रसाउने समस्या देखिएको र सो भवन सम्बन्धित पक्षलाई हस्तान्तरण गर्न बाँकी रहेकाले सो वडा भवनको मर्मत कार्य जारी रहेको र मर्मतपश्चात सम्बन्धित पक्षलाई जिम्मा लगाउने सुबेदीले बताए ।
भवन निर्माणमा आर्थिक अनियमितता भयो भन्ने स्थानीय सरोकारवालाहरूको गुनासो छ नि ? भन्ने सबालमा कानेपोखरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गायत्र क्षेष्ठले यसमा कुनै पनि सत्यता नभएको र सबै काम पारदर्शी ढङ्गले गरिए पनि भवन रसाउनु संयोग मात्र भएको बताए ।
कानेपोखरी गाउँपालिका वडा ३ को भवन निर्माण गर्दा आर्थिक चलखेल भएको आशंंकामा वडा भवन उद्घाटन गर्नुभन्दा केही दिनअगाडिनै छतबाट पानी रसाएको भिडियो सामाजिक सन्जालमा सार्वजानिक भएको थियो ।