सडक निर्माणको कार्यले तीव्रता नपाउँदा र वर्षातको बेला विकास निर्माण गर्ने नेपाली परिपाटीले जनताले सास्ती खेप्नु परेको छ ।
वर्षातको समयमा पहाडी क्षेत्रका सडकहरू उसै पनि जोखिमपूर्ण हुन्छन् । तर विकास निर्माणका नाममा वर्षातको बेला बजेटको हिनामिना गर्ने र कमाउ धन्दाले निर्माण गरिएका सडकहरूले दुर्घटना निम्त्याउने गरेको छ ।
असारे चटारोमा कैलालीको चुरे गाउँपालिमा छ किलोमिटर सडक निर्माण हुँदै छ । निर्माण भइरहेको सडकमा नाला व्यवस्थापन नहुँदा सडक हिलाम्य बनेको छ । जसले गर्दा सेवाग्राहीदेखि लिएर अन्य यात्रुहरूले जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
जिल्लाको दुर्गम पहाडी गाउँपालिका चुरेको कार्यालय सहजपुरबाट छ किलोमिटर टाढा रहेको छ । छ किलोमिटरको सडक निर्माण समयमै नगरिँदा हिलाम्य हुनुका साथै यात्रुहरूलाई आवतजावत गर्न समस्या भएको हो ।
निर्माणाधीन सडकको ठाउँ ठाउँमा खाल्डाखुल्डी छन् भने वर्षाको पानीले सडक चिप्लो छ । असारे विकासको चटारोले छोएको सो सडकमै निर्माण सामग्री र उपकरणहरू अव्यवस्थित ढङ्गले राखिएका छन् । जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
२०५१/५२ मा गाउँपालिकाको कार्यालय हुँदै जाने सडकलाई कृषि सडक अन्तर्गत सहजपुर–सोल्टा सडक नामाकरण गर्दै काटियो । त्यसपछि २०६÷६१ मा साबिकको जिल्ला विकास समितिले सुधारका लागि बजेट विनियोजन पनि ग¥यो । त्यसयता उक्त सडक स्तरोन्नतिका लागि कुनै काम भएन ।
मानिसहरूलाई सडक हुँदै आवतजावत गर्न सहज भएकै थियो । स्थानीय तहको निर्वाचनपछि गाउँपालिकाको कार्यालय सहजपुरबाट ६ किलोमिटर टाढा घरखेडामा निर्माण गर्ने निर्णय गरियो ।
सो निर्णयसँगै गाउँपालिकासम्म उक्त सडकलाई स्तरोन्नति गर्ने निर्णय पनि गरियो । त्यसका लागि २०७४/७५ मा स्थानीय उपभोक्तामार्फत र २०७५/७६ मा सडक स्तरोन्नतिका लागि नाला र ग्राभेल गर्न जागृति निर्माण कम्पनीलाई गाउँपालिकाकाले ठेक्का लगायो ।
सडक स्तरोन्नतिका नाममा अहिले चुरे गाउँपालिकाको वडा नम्बर १ देखि ४ का बासिन्दा र सेवाग्राहीले समस्या झेलिरहनु परेको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को असार मसान्तसम्म काम सक्नुपर्नेमा सम्झौता सकिनै लाग्न निर्माण कम्पनीले काम सुरु गरेको छ ।
चालु आर्थिक वर्षको असार मसान्तका सम्झौता सकिन लाग्दा निर्माण कम्पनीले जेठदेखि सडक स्तरोन्नतिको काम अगाडि बढाउँदा अहिले जनतालाई आवतजावतमा समस्या भएको छ ।
सडक स्तरोन्नतिको लागि काम सुरु हुनु भन्दा अगाडि बजारसम्म पुग्ने स्थानीय कृषि उत्पादन पनि अहिले गाउँमै कुहिन थालेका छन् । गाउँमा तरकारी तथा फलफूल उत्पादन हुने समयमा नै सडक हिँड्नै नसकिने भएको छ ।
‘विगतमा गाउँमा उत्पादन भएका तरकारी, फलफूलहरू यही बाटो भएर बजारसम्म लैजान सकिन्थ्यो,’स्थानीय खगेन्द्र खडायतले भने, ‘अहिले बारीमा कुहाउन बाध्य छौँ, सडकमा हिँड्ने अवस्था नै छैन ।’
निर्माण कम्पनीले वर्षाको समयमै आएर काम गर्न थालेपछि आजित भएका स्थानीयले केही दिनअघि सडकमै धान रोपेर विरोध जनाए । सरकार नै धान उत्पादनलाई बढवा दिनका लागि असार १५ मा धान दिवस मनाईरहँदा रहँदा स्थानीयले भने सडकमा आएर धान रोपे । सडकमा खेप्नु परेको दुःख व्यक्त गर्न सडकमै आएर धान रोप्नुपरेको स्थानीय टीकाराम ढुंगानाले बताए ।
स्थानीय तहको निर्वाचनमा असारमै गाडीमा यही बाटो भएर प्रचारप्रसार गरेको स्मरण गर्दै गाउँपालिकाको अध्यक्षका उम्मेदवार ढुंगानाले भने, ‘अहिले आएर जेठ–असारमा बाटो हिँड्ने नसकिने भयो ।’उनले यसमा गाउँपालिकाको चरम लापरबाही भएको बताए ।
सडक समयमै निर्माण हुन नसक्नुमा गाउँपालिका र निर्माण कम्पनी एक अर्कालाई दोष लगाइरहेका छन् । सडक स्तरोन्नतिका लागि चुरे गाउँपालिकाले दुई वर्षअघि चालु आर्थिक वर्षमा सडक निर्माण सम्पन्न गर्नुपर्ने समय तोकेर जागृति निर्माण कम्पनीसँग तीन करोड ६४ लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
तर, अहिलेसम्म निर्माणको ५० प्रतिशत काम सम्पन्न भएको गाउँपालिकाको दाबी छ । गाउँपालिकाका इन्जिनियर विक्रम कँडेलले निर्माण कम्पनी र प्राविधिक त्रुटिका कारण सडक निर्माण ढिलाइ भएको बताए । उनले अहिले ५० प्रतिशत काम सम्पन्न भएको दाबीसमेत गरे ।
जागृति निर्माण सेवाको तर्फबाट वारेसनामा काम गरिरहेका सुरेश रोकायाले समयमै ई–आइए नहुँदा र भीओमा परिणाम नहुँदा सडक निर्माणमा ढिलाइ भएको बताए ।सडक चौडा गर्ने, माटो पटानी, नाली बनाउने काम धेरै ठाउँमा सम्पन्न भएको दाबी गर्दै उनले भने, ‘छ महिना म्याद थपिएर सरासर काम गर्न पाए त्यो समयभित्र काम सक्छौँ ।’
गाउँपालिकाका अध्यक्ष धनबहादुर रोकामगरले निर्माण कम्पनीका कारण सडक निर्माणमा ढिलाइ हुँदा सेवाग्राही र जनप्रतिनिधिले सास्ती पाएको बताए । निर्माण कम्पनीले बदमासी गर्दा जनताको गाली खानुपरेको उनले बताए ।
वर्षा लागेपछि निर्माण कम्पनीले डोजर चलाउँदा आवतजावतमा जनताले सास्ती बेहोर्नु परेको उनको भनाई छ । ‘छ महिना भित्रै काम सक्ने प्रतिबद्धता जनाए म्याद थप्ने तयारीमा छौँ’ उनले भने ।