सुदूरपश्चिम प्रदेशको कला र संस्कृतिको पहिचान दिने दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको छ । यहाँ भित्रिएको ब्याण्ड बाजाका कारण सुदूरपश्चिम प्रदेशमा दमाहा बाजा सङ्कटमा पर्दै गएको स्थानीयको भनाइ छ ।
विवाह, ब्रतबन्ध, न्वारन तथा विभिन्न देवी देउताको पूजाआजाका बेला अनिवार्यरुपमा बजाउनुपर्ने प्रचलन रही आएको यहाँको दमाहा बाजा पछिल्लो समय लोप हुने अवस्थामा पुगेको पाइएको हो ।
दमाहा बाजाको छुट्टै महत्व रही आएको भए पनि यसको प्रयोगमा युवापुस्ताले चासो नदिँदा दमाहा बजाउने पेशा पनि सङ्कटमा पर्न थालेको जोरायल गाउँपालिका–५ का स्थानीयवासी दीर्घबहादुर बोगटी बताउँछन् ।
“बजारमा आधुनिक बाजा आएपछि युवापुस्ताले दमाहा बजाउन खासै चासो देखाएनन्”, उनले भने, “हिजोआज यो बाजाको प्रचलन नगण्य मात्रामा मात्र देखिने गरेको छ ।” जिल्लाका ग्रामीण क्षेत्रमा बढी प्रयोग हुने यो दमाहा बाजा पछिल्लो समय गाउँघरबाटसमेत क्रमिकरुपमा लोप हुने अवस्थामा पुगेको बताइएको छ ।
सुदूरपश्चिमका नेपाली (ढोली) थरका व्यक्तिले मात्रै उक्त बाजा बजाउने चलन परापूर्वकालदेखि चल्दै आएको छ । यो बाजा निर्माण गर्ने काम लुहार तथा सजाउने (बखर्ने) काम भने सार्की थरका व्यक्तिले गर्ने परम्परा रहेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाहका शङ्कर नेपालीले बताए ।
यस समुदायका युवा अहिले भने यो बाजा बजाउने पेशातर्फ आकर्षित छैनन् । जसका कारण दमाहा बाजा नै हराएर लोपोन्मुख अवस्थामा पुग्न थालेको छ । केआइसिंह गाउँपालिका–५ का स्थानीयवासी जयराज जोशी भन्छन् “दमाहा बाजा संरक्षण नगरिए चाँडै लोप हुने देखिन्छ” ।
दमाहा बाजा बजाउने समुदायका युवापुस्ता भने दमाहा या पञ्चे बाजामा प्रतिष्ठा, पारिश्रमिक र भविष्य नदेखेको बताउँछन् । स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको उनीहरु बताउँछन् ।
दमाहा बाजा नेपाली बाजा हो । यो बाजाको पिँधतिर सानो र मुखतिर फुकेको या ठूलो हुन्छ । तामाको भाँडोलाई भैँसीको छालाले मोहोरिएको बाजालाई सुदूरपश्चिम प्रदेशमा दमाहा नामले चिनिन्छ ।
यसलाई गजो अर्थात् लौरोले हानेर बजाइने गरिन्छ । यसलाई सानो खालको नगराका रूपमा पनि हेरिन्छ । यो पञ्चैबाजा समूहको ताल बाजाका रूपमा लिइन्छ । यसलाई प्रायः घाँटीमा झुण्ड्याएर बजाउने गरिन्छ ।
पानीले दुई दिनजति भिजाइएको दमाहा राम्रो बज्ने गरेको दमाहा बखर्ने अर्थात् दमाहामा छाला लगाउने गड्सेराका स्थानीयवासी जोगीसिंह सार्कीले बताए । उनले भने, “मरेको गोरुको छाला दुई दिन पानीमा भिजाएपछि छाला नरम हुन्छ र बर्खन सजिलो हुन्छ र आवाज पनि बढी आउँछ ।”
दमाहा बाजाको तालमा नाचिने सुदूरपश्चिमका प्रसिद्ध नाच छलिया, ढुस्को, धमारी, चैतलगायतका मौलिक नाच पनि लोप हुने खतरा देखिएको छ । यी परम्परागत मौलिक सम्पदा र संस्कृतिको संरक्षण र सम्वद्र्धनका लागि स्थानीय सरकारले पनि पहल गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । बालिघरे प्रथाका रुपमा पहिले दमाहा बजाएवापत अनाज अर्थात् खाद्यान्न दिने परम्परा रहेको दिपायल राजपुरका ५० वर्षीय स्थानीय सन्तकुमार नेपालीले बताए ।
उनले भने, “हाम्रो पालामा दमाहा बजाएवापत अन्न लिने चलन थियो, अहिले ब्याण्ड बाजा भन्छन्, तालसुर केही हुँदैन तर चर्को स्वरमा बजाउँछन् र पैसा लिन्छन् ।” संस्कृतिविद् नन्दकृष्ण जोशीका अनुसार सुदूरपश्चिमका नौवटै जिल्लामा पञ्जेबाजमा सबैभन्दा बढी दमाहा बाजालाई महत्व दिने गरिएको छ । आदिकालमा भगवान् शिवले डमरुसँगै दमाहा बाजालाई पनि मन पराएपछि त्यतिबेलादेखि नै यसको प्रचलन बढेको किंवदन्ती रहेको जोशीले बताए ।