नेविसंघ र अखिल सम्बद्ध विद्यार्थीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका छन् । प्रदर्शनी मार्गमा प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका हुन् ।
विद्यार्थीहरूले विभिन्न नारा लगाउँदै प्रतिगमन सच्चिनुपर्ने लगायतका माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ ८ गते मध्यरातमा दोस्रो पटक प्रतिनिधि सभा भङ्ग गरेपछि बनेको विपक्षी ५ दल सम्बद्ध महागठबन्धन निरन्तर सरकारविरुद्ध खबरदारी गर्दै आएका छन् ।
‘अधिनायकवादी र स्वेच्छाचारी सरकार, शैक्षिक बेथिति र मनपरी , बढ्दो महँगी नियन्त्रण र आम नागरिक सँगै शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गरी शैक्षिक संस्था सञ्चालनको निम्ति हामी चरणबद्ध आन्दोलनमा छौ’ नेपाल विद्यार्थी सङ्घका महामन्त्री दीपक भट्टराईले केटिएम दैनिकसँग भने ।
आकाशिदो मूल्यवृद्धि, पेट्रोलियम पदार्थमा लगातार भएको मूल्यवृद्धि फिर्ता गर्नुको साथै शिक्षक र विद्यार्थीलाई खोपको व्यवस्था गर्नुपर्ने माग राखेर निरन्तर आन्दोलनमा उत्रिएको उनले बताए ।
हेरौं तस्विरहरू