सुनसरीको कोसी गाउँपालिकामा तीन वटा सवारी साधन एकापसमा जुध्दा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका–८ खण्डमा आइतबार बिहान ७ बजे हायस माइक्रो, मोटरसाइकल र पिकअप भ्यान एककासपमा जुधेर दुर्घटना भएको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते छन् । नङ्खु टोलमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी–५ का २८ वर्षीय उदय साह, मोटरसाइकल पछाडि सवार विराटनगर–९ का ४५ वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर ७ का ४० वर्षीय अक्षयकुमार गुप्ता मृत्यु भएको उनले बताए ।
उनीहरूको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको डिएसपी तिम्सिनाले बताए । उक्त दुर्घटनाबाट हायस चालक नुवाकोट बिदुर नगरपालिका–१३ का ३५ वर्षीय विवस तामाङ् र हायसको सहचालक सोही स्थान ११ का २५ वर्षीय नारायण बत्सयाल भने गम्भीर घाइते बनेका छन् । घाइतेहरूको विराटनगरस्थित विराट नर्सिङहोममा उपचार भइरहेको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस माइक्रोले सप्तरीबाट विराटनगरतर्फ आँउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलपछि पश्चिमबाट पूर्वतर्फ आँउदै गरेको को १ च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको थियो ।
पानी परिरहेको समयमा तीब्र गति कुदाएका कारण दुर्घटना भएको डिएसपी तिम्सिनाको भनाइ छ ।
तस्विरहरू