दलितलाई कोठा भाडामा नदिएको आरोपमा हिरासतमा रहेकी सरस्वती प्रधानलाई रिहा गर भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
रुपा सुनार ले घर भाडाको बिषयमा सरस्वती प्रधान माथी दर्ता गरेको जातिय विभेद सम्बन्धि मुद्दाको बिरोधमा आज जिल्ला सरकारी वकिलको कार्यलय बबरमहलमा नेवार समुदायले बिरोध प्रदर्शन गरेको छ काठमाडौंमा बबरमहलमा भेला भएका मानिसहरुले “सरस्वती प्रधानलाई निशर्त रिहाई गर” लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।
केही महिलाहरुसमेत प्रदर्शन उत्रिएका छन् । प्रदर्शनमा आएका एक व्यक्तिले “आफूले चाहेको केटासित बिहे गर्न पाएन भने पनि जातको कुरा उठाएर मुद्दा हाल्ने होइन रुपा सुनार?” लेखेको प्लेकार्ड समेत बोकेका छन् ।
केहीदिनअघी आफू कामी भएकै कारण घरबेटीले कोठा भाडामा नदिएको भन्दै सञ्चारकर्मी समेत रहेकी रुपा सुनाले घरबेटी सरस्वती प्रधानविरुद्ध उजुरी गरेकी थिइन् ।
आजै नेवा समुदायको छाता संगठन नेवाः देय। दबूले रुपा सुनारले सुनियोजित रुपमा घरधनी सरस्वती प्रधानलाई फसाएको बताएको छ । नेवाः देय दबू जिल्ला समिति काठमाडौंले प्रेस विज्ञप्ति जारी गरी घरधनीले जातीय विभेद गर्ने मनशाय नराखेको र प्रत्येक घरधनीलाई आफ्नो घर भाडामा दिँदा भाडामा बस्ने व्यक्तिको घर ठेगाना,पेशा,चालचलन तथा अन्य जानकारी सोध्ने अधिकार रहेको जनाएको छ ।
अध्यक्ष मचाराज महर्जनले जारी गरेको विज्ञत्तिमा भनिएको छ, ‘घरसल्लाह गरी खबर गर्छु भनेको र कुनै पनि करार वा बैना लिई सकेको अवस्था पनि नभएकोमा स्वयंले आफैं कामी भएर नदिने भनेको हो ? भन्दै आफू कुरा बढाएर फोन रेकर्ड गरी मिडियाकर्मी भन्दै शक्तिको दुरुपयोग गरी घरधनीलाई सुनियोजित रुपमा अतिरञ्जित गरेको देखिन्छ ।’
दबूले सामाजिक सद्भावमा आँच आउने गरी सुनियोजित क्रियाकलाप भएको भन्दै प्रधानको पक्राउ गैरकानूनी भन्दै रिहाईको माग गरेको छ । नेवाः दबूले आफूहरु सबै खाले विभेदको विपक्षमा रहेको जनाएको छ ।