सुनसरीको देवानगञ्ज गाउँपालिका–७ रासीका वासुदेव मेहता आफ्नै आँगनमा स्याउ फलेपछि आश्चर्यचकित छन् । विशेष गरी स्याउ हिमाली वा उच्च पहाडी क्षेत्रमा फल्छ । चिसो क्षेत्रमा फल्ने स्याउ अत्यधिक गर्मी हुने तराई क्षेत्रमा फलेपछि किसान आफैँ अचम्मित भएका छन् ।
हिमाली क्षेत्र र भारतबाट आयातित स्याउ खाने गरेका ५४ वर्षीय वासुदेव आँगनमै लटरम्म फलेको स्याउको बोट देखेर दङ्ग परेका हुन् । उनले तीन वर्षअगाडि विश्वास नलागी–नलागी एक बोट स्याउको बिरुवा किनेका थिए ।
२०७४ सालतिर उनले सुनसरीको तरहरास्थित एक नर्सरीबाट बेच्न आएकी एक युवतीसँग पाँच सय रुपैयाँ हालेर स्याउको बिरुवा किनेका थिए । त्यति बेला उनले तराईमा पनि स्याउ फल्छ भन्ने कुरामा विश्वास गरेका थिएनन् । बोट पनि हुर्किँदैन जस्तो उनलाई महसुस भएको थियो । यसैले त उनले डराइडराई एउटा मात्र स्याउको बिरुवा किने । त्यही पनि बिक्री गर्न आएकी युवतीलाई बाचा–कसम खुवाए ।
‘मलाई त विश्वास नै थिएन कि तराईमा पनि पनि स्याउ हुन्छ भन्ने’, उनले भने, ‘मैले बूढो मान्छेलाई नठग्नु है भनेर भन्दा उहाँले धरोधर्म ढाँट्दिन भन्दै स्याउको बोट दिनुभएको थियो । त्यति बेला पाँच सयले त मेरो खेतमा लगाउन मल नै आउँथ्यो ।’
मल किन्न राखेको पैसाले स्याउको बिरुवा किनेका उनले आँगनमा रोपे । पानी हाले, गोडमेल गरे । कहिलेकाहीँ औषधि पनि छर्किए । दुई वर्ष जतिमा बोट अग्लो भयो । कतै–कतै फूल फुलेको जस्तो देखियो । केही फल लागे तर अडिएनन् । जम्मा दस वटा जति अडिएका थिए । त्यै पनि घरमा चाख्दै र गाउँतिर बाँड्दै ठिक्क भयो ।
तर तेस्रो वर्षमा भने उनी अचम्मित भए । बोटभरि फल लागे । फल अलि ठुला हुँदा लटरम्मै स्याउका दाना देखिन्थे । पछि आधा जति झरे । वासुदेवको मनमा अब पुनः फल अडिँदैनन् । पाँच सय रुपैयाँ र तीन वर्षसम्मको मेहनत खेर गयो भन्ने लाग्यो । निराशिँदै उनले कृषि विज्ञसँग राय लिन थाले ।
कृषि विज्ञले केही किटनाशक औषधि सुझाएपछि भने उनी सन्तुष्ट छन् । केही दिन औषधि प्रयोग गरेपछि स्याउ बोटमा अडिएका छन् । त्यति मात्र नभएर स्याउ पाक्न थालेका छन् । तराई भेगको आँगनमा स्याउ देख्न पाउँदा भने उनी अझै अचम्मित छन् । ‘भाग्यमानी नै मान्नुपर्ला । तराईमा बसेर पनि आँगनमा स्याउ देख्न पाइएको छ’, उत्साहित हुँदै उनले भने, ‘घरी–घरी त हिमालमै जन्मिएछ कि जस्तो लाग्छ । तीन नानीलाई धन्यवाद छ । अब भने तपाइकै स्याउ भनेर गर्वका साथ बजारमा बेच्छु ।’
विस्तार गरेर सभा एक बिगाहा लगाउने योजना
वासुदेवको सभा एक बिगाहा जग्गा छ । त्यसमा उनले अहिले उखु, तरकारी, खोर्सानी, पटुवा, लिची र अङ्गुर पनि खेती गरिरहेका छन् । अब उनले प्रायः सबै कुरा मासेर सभा एक बिगाहा स्याउ खेती गर्ने योजनामा छन् ।
यसै वर्षदेखि पाँच कठ्ठामा स्याउको बोट लगाउने मनसाय बनाएका वासुदेव भन्छन्, ‘पहिले पाँच कठ्ठामा लगाउँछु । राम्रै भएमा अबको चार वर्षभित्रमा सभा एक बिगाहामै स्याउ लगाउँछु । मलाई लाग्छ, मेहनत गरेमा पक्कै पनि तराईमा स्याउ फल्छ ।’
स्याउ खेती विस्तार गर्नका लागि भने उनले तालिम लिने योजना बनाएका छन् । यसका लागि कृषि ज्ञान केन्द्र तरहरासँग समन्वय गर्ने योजना रहेको बताउँदै उनले तालिमपछि भने स्याउ मनग्ये फलाएर आम्दानी गर्ने योजनामा छन् ।
उनी भन्छन्, ‘केही फर गर्नुपर्छ । तरकारी खेती गाउँभरि सबैले गर्दै आएका छन् । मुख्य बालीनाली परम्परादेखि नै लगाउँदै आएका हौँ । अब तालिम लिएर स्याउ खेती गर्छु । पैसा नहोला तर पहिचान बेग्लै बन्नेछ ।’
पाँच सय बिरुवा उत्पादन एउटै बोटबाट
अहिले उनले लगाएको स्याउको बाटे करिब दस फुट जति अग्लो छ । चारैतिर हाँगा फैलिएको छ । त्यहीँ हाँगाबाट करिब पाँचसम्म बिरुवा निस्किन्छ । कलमी गरेर वार्षिक एक सयका दरले पाँच वर्षमा पाँच सय बिरुवा उत्पादन हुने उनी बताउँछन् । अब, उनले तालिमबाटै बिरुवा उत्पादने बारे जान्ने निधो गरेका छन् ।
हिमालमा स्याउ तयार नहुँदै तराई र पहाडमा स्याउ उत्पादन गर्न सके बजारसमेत राम्रो हुने उनले बताएका छन् । स्याउ खेतीलाई आधुनिक तरिकाले बगैँचा प्रणालीलाई स्तर उन्नति गरी प्रयोगमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ । वासुदेवले फलाएको स्याउ गुलियो र स्वाद उस्तै छ ।
कृषि विज्ञ भन्छन्– तराईमा स्याउको व्यावसायिक खेती गर्दा जोखिम हुनसक्छ
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, प्रदेश १ का प्रवक्ता डाक्टर राजेन्द्र उप्रेती तराईमा स्याउको व्यावसायिक खेती गर्दा जोखिम हुन सक्ने बताउँछन् । हिमाली तथा उच्च पहाडी भेगमा फलेको स्याउजस्तो टेस्ट र कलर हुन नसकेको खण्डमा बजारीकरणमा जोखिम हुने उप्रेतीको भनाइ छ ।
‘स्याउ विशेष गरी पाँच डिग्री सेल्सियस तापक्रममा फल्ने हो’, उनले केटिएम दैनिकसँग भने, ‘तराईमा पनि फल्न सक्छ तर फाइनल प्रडक्ट भनेअनुसार नआउन सक्छ । टेस्ट र कलरमा फरकपन हुनसक्छ । जस कारण बजारीकरणमा समस्या हुन्छ किनकि उपभोक्ताले स्याउ चिटिक्क परेको र स्वाद भएकै खोज्छन् । एक–दुई बोटसम्म ठिकै हो, व्यावसायिक गर्न खोज्दा जोखिम हुनसक्छ ।’
सोलुखुम्बु र ताप्लेजुङमा पनि फलेको स्याउको कर्णालीको स्याउसँग तुलना हुन नसक्ने बताउँदै उनले भने, ‘सोलु र ताप्लेजुङतिरको स्याउ टेस्ट र कलरकै कारण अम्बाको भाउमा बिक्री हुन्छ । यसैले व्यावसायिक खेती गर्दा तालिम र अध्ययनको आवश्यकता हुन्छ । यतातिर आधारभूत मात्र तालिम हुन्छ, काठमाडौँ वा मुस्ताङतिर भने राम्रै तालिम हुन्छ । तालिममा पठाउन सहजीकरण गर्न मन्त्रालय तयार छ ।’