धनगढी उपमहानगरपालिकाको एक सडकमा स्थानीयले धान रोपेका छन् । उपमहानगरपालिका–५ हसनपुर–शिवनगर सडक हिलाम्य भएपछि स्थानीयले त्यसैमाथि धान रोपेका हुन् ।
उपमहानगरपालिकाले उक्त सडक पिच गर्ने भनेर भत्काए पनि काम अगाडि बढाउन ढिलाइ गर्दा वर्षामा समस्या भोग्न परेको स्थानीयले बताएका छन् । स्थानीय अनिल भण्डारीले तीन वर्ष अघि ठेकेदारले कालोपत्रे सडक भत्काएर अलपत्र पारिदिएपछि हिलाम्मे हुँदा आवातजावतमा सास्ती भएको बताए ।
उपमहानगरपालिकाले समेत उक्त सडक कालोपत्रे गर्न चासो नदिएका कारण निर्माणका लागि दबाब दिन रोपाइँ गरिएको उनले बताए । ‘तीन वर्षअघि सडक कालोपत्रे हुँदा कुनै खालको समस्या थिएन । तर पुनः कालोपत्रे गर्ने भन्दै सडक भत्काइयो,’ भण्डारीले भने, ‘वर्षातका बेला आवतजावत गर्न सकिने अवस्था नै छैन ।
मानिसको मृत्यु हुँदा शव बोक्न सक्ने अवस्था छैन ।’धनगढी उपमहानगरपालिकाका इन्जिनियर प्रदीप शर्माले कोरोनाकै कारण काममा ढिलासुस्ती गरिएपछि तीन वर्षसम्म सडक कालोपत्रे हुन नसकेको बताए । उनले स्थानीय र वडा कार्यालयबीच भएको सहमतिअनुसार निर्माण व्यवसायीलाई सडकको निर्माण गर्न पुनः ताकेता गरिने बताए ।स्थानीयले नगरप्रमुखलगायत जनप्रतिनिधि, निर्माण व्यवसायीविरुद्ध नाराबाजीसमेत गरे ।