चारैतिर हरियाली डाँडाकाँडा, फेदीमा सुन्दर बजार । बजारको तिरैतिर बगिरहेको ठूली भेरी नदी । हेरौँ हेरौँ लाग्ने यो सुन्दरबजार हो डोल्पा सदरमुकाम दुनै बजार ।
ठूली भेरी नगरपालिकाको वडा नम्बर ३ मा पर्ने दुनै बजारमा करिब ५ सयभन्दा बढी घरदुरी छन् भने करिब ३ हजार मान्छे दुनै बजारमा बसोबास गर्ने गरेको सरोकारवाला बताउँछन् । दुनै बजारको छेवैबाट ठूली भेरी नदी बग्दछ ।
वर्षात्का कारण नदीमा पानीको बहाव बढेसँगै स्थानीयबस्ती जोखिममा परेको छ । डोल्पा सदरमुकाम दुनै बजार नेपालकै उच्च जोखिमको सदरमुकाममध्ये पर्दछ । वर्षायाममा उर्लेर आउँने बाढीको यात्रामा वर्षौँवर्षदेखि स्थानीय बाँचिरहेका छन् । दुनैका स्थानीय वर्षायाममा बाढीले बगाउने डरको चिन्तामा निन्द्रा नै नलाग्ने गरेको बताउँछन् ।