लोपोन्मुख राउटे समुदायका युवतीहरूलाई होटलमा लिएर मदिरा सेवन गराई भिडिओ बनाउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
सुर्खेतको गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षका भूपेन्द्र बुढा र २९ वर्षका विनोद पुनलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
पुन होटल सञ्चालक हुन्। उनको होटलमा उनीसहित तीन जना युवाले राउटे समुदायकी युवतीहरूलाई लिएर आफू अर्धनग्न बनेर भिडिओ बनाएका थिए।
यूवतीलाई मदिरा सेवन गराई भिडियो बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
उनीहरूले बनाएको भिडिओ सामाजिक सञ्जालमा अपलोड भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
भिडिओमा राउटे युवतीहरूले ‘आफूलाई डिस्टर्ब भएकोले बाहिर जान’ भनेकी छिन् । ती युवाहरूले भने जबर्जस्ती भिडियोमा युवतीलाई बोल्न लगाएका छन् । यतिमात्रै होइन एकजना व्यक्तिले जबरजस्ती चुम्बनसमेत गरेको भिडियोमा देखिन्छ ।
उनीहरूलाई कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।
पछिल्लो समय सामाजिक सञ्जाल युट्युव, टिकटक र फेसबुकमा भाइरल बनाइएका राउटे समुदायका युवतीहरूमाथि दुर्व्यवहार हुन थालेको हो ।