सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी महासचिव ईश्वर पोखरेललाई सरकारको जिम्मेवारीबाट हटाउने भएको छ । उनलाई पार्टीको जिम्मा दिन लागिएको एक नेताले जानकारी दिएका छन् ।
‘उहाँलाई उपप्रधानमन्त्रीबाट हटाइएको छ । उहाँको काम अब पार्टी हाँक्ने हो’, स्रोतले भन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर समूहका १० जनालाई समेटेर मन्त्रिपरिषद विस्तार गर्दैछन् ।
ओली सरकारमा आज सहभागी हुँदै गरेको जसपाबाट राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन् । जसपालाई उपप्रधानमन्त्री दिनु पर्ने भएका कारण ओली सरकारमा उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेल बाहिरिनु परेको हो ।