कोरोना सङ्क्रमणका कारण मङ्गलबार उदयपुरमा एक जना कार्यालय प्रमुखसहित तीन जनाको मृत्यु भएको छ ।
सिरहाको लहान घर भएका ३४ वर्षीय ती कार्यालय प्रमुखलाई वैशाखको पहिलो साता कोरोना पुष्टि भएको थियो । उपचारका क्रममा उनको काठमाण्डौँको टिचिङ्ग अस्पतालमा सोमबार राति मृत्यु भएको उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइँले जानकारी दिए ।
उनको वैशाख १३ गते मात्र पहिलो सन्तानको रूपमा छोरा जन्मिएका थिए । उनी दुई वर्षअघि मात्र वैवाहिक जीवनमा बाँधिएको बताइएको छ ।
त्यसैगरी, कोरोनाबाट त्रियुगा नगरपालिका–८ का ५४ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल मेडिकल शिक्षण अस्पतालमा मृत्यु भएको छ । ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि वैशाख २३ गते अस्पताल भर्ना भएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । त्यसपछि कोभिड उपचार केन्द्रमा भर्ना भइ उपचाररत उनको मङ्गलबार बिहान ५ बजे मृत्यु भएको नोबेल अस्पताल विराटनगरका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
यसैगरी, विराटनगरस्थित कोसी कोभिड उपचार केन्द्रमा त्रियुगा नगरपालिका–५ की ५० वर्षीया महिलाको मृत्यु भएको छ । अस्पतालका कोभिड फोकलपर्सन बैजनाथ साहका अनुसार उनी वैशाख २६ गते उपचारका लागि कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उपचारकै क्रममा उनको मङ्गलबार बिहान १ः३० बजे मृत्यु भएको हो ।
योसँगै उदयपुरमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।