आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एपबाट मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपिओमा आवेदन दिन सकिने भएको छ ।
दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँड्डुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आजदेखि आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दाहरूलाई लक्षित गरी जारी गरेको आईपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।
आयोजनाको आइपीओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणी ढकालका अनुसार आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक वासिन्दाहरूले आइएमई पे मार्फत आवेदन दिन सक्ने बताउँदै अन्यलाई आवेदन दिनको लागि अर्को ब्यबस्था गरिने बताए ।
मध्य भोटेकोशीले बैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाई ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो । यसरी निष्काशन गरिएको आईपिओमा न्युनतम ५० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि आवेदन दिन सकिने छ । छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गतेसम्म आईपिओमा आवेदन दिन सकिने छ ।
झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।