मोरङको सुन्दरहरैँचाका एक कोरोना भाइरस सङ्क्रमित पुरुषको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ ठडियाका ५४ वर्षीय दधिराम भट्टराईको बुधबार बिहान विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो ।
कोरोना सङ्क्रमण भइ उपचाररत उनको बुधबार बिहान मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि उनी शनिबार नोबेल मेडिकल कलेज भर्ना भएका थिए ।
स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनलाई चिकित्सकले प्लाज्मा थेरापी गर्नुपर्ने बताएका थिए । त्यसपछि दधिरामले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा प्लाज्मा थेरापीका लागि ‘ए’ पोजेटिभ ब्लडको आवश्यकता रहेको भनेर लेखेका थिए ।
उनका आफन्तका अनुसार सामाजिक सञ्जालमा लेखेपछि एक पाउण्ड प्लाज्मा उपलब्ध भएको थियो । उनलाई प्लाज्मा चढाइएको पनि थियो । बुधबार बिहान मृत्यु भएको आफन्तले जनाएका छन् । अस्पतालका प्रवन्ध निर्देशक दाहालले प्लाज्मा थेरापी र रेम्डिसिभिर प्रयोग गर्दा पनि उनलाई बचाउन नसकिएको बताए ।
घरजग्गा व्यावसायी भट्टराई काठमाडौँ ताप्लेजुङ सम्पर्क मञ्चका संस्थापक अध्यक्षसमेत हुन् ।