कैलालीमा ३ जना कोरोना संक्रमित गुडिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेका छन् ।
त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि धनगढी १५ मा रहेको आइसोलेसन लगिएको थियो । तर, उनीहरू चल्दै गरेको एम्बुलेन्सबाट हाम फालेर भागेको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले केटिएम दैनिकलाई बताए ।
नेपालमा कामदारको रूपमा ९ जना व्यक्तिहरु भारतको पलियाबाट भित्रिएका थिए । सिमामा एन्टिजेन परीक्षणमा ६ जनामा भने कोरोना नभएको पुष्टि भएको थियो । ३ जनामा पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसन लगिएको हो ।
पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसन लग्दै गर्दा गुडिरहेको एम्बुलेन्सबाट नदीमा हाम फालेका हुन् । सीमामै आइसोलेसनमा जान आनाकानी गरेका उनीहरू बाटोबाटै भागेका हुन् ।
‘गुडिरहेको एम्बुलेन्सबाट एक्कासि हाम फाले’ एम्बुलेन्स चालक दिनेश लामाले केटिएम दैनिकसँग भने ‘छोप्न खोज्दा भागे, जङ्गल पसे ।’ उक्त एम्बुलेन्समा ७ जना सङ्क्रमित रहेका थिए । ती मध्ये ४ जना नेपाली भने आइसोलन नै गए ।