प्रधानमन्त्री केपी ओलीले काँग्रेसले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको आरोप लगाएका छन् । संसद् अधिवेशन अन्त्य गरेका प्रधानमन्त्री केपी ओलीले सोमबार पार्टीभित्र पेस गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेसका कारण नयाँ सरकार बनाउन मुस्किल परेकाे उल्लेख गरेका छन् । उनले कांग्रेसले अर्काे सरकार बनाउन नसक्ने आराेप पनि लगाएका छन् ।
उनले काँग्रेसले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको आरोप लगाएका छन्। ‘संसदमा मुख्य विपक्षी नेपाली कांग्रेस यतिवेला अन्योलबाट गुज्रिरहेको छ। नेकपा विभाजनका कारण निर्वाचनबाट आफू लाभान्वित हुने आकलन गरिरहेको यो पार्टी नयाँ निर्वाचनको पक्षमा भने उभिन सकेको छैन,’ ओलीको प्रतिवेदनमा छ, ‘निरन्तर प्रयास गरे पनि उसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन पनि सकिरहेको छैन। नेपाली काँग्रेसको यस्तो द्विविधा र काँग्रेसभित्र गुटैपिच्छेको भिन्नाभिन्नै मतले राजनीतिलाई अन्योलग्रस्त बनाइरहेको छ।’
‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ। तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन। यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन,’ ओलीको प्रतिवेदनमा छ।
सोमबार नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिवसको उपलक्ष्यमा बोल्दै नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले आफूले ओलीलाई हटाउन सक्ने तर त्यस्को लागि प्रधानमन्त्रीको पद आफूले पाउनुपर्ने बताएका थिए ।