सुनसरीको बर्जु गाउँपालिकाबाट आफ्नै काका ससुराको घरमा डकैती गरेको आरोपमा एक महिलासहित पाँच जना पक्राउ परेका छन् । सुनसरी प्रहरीले काका ससुराको घरमा डकैती गर्ने बर्जु गाउँपालिका–१ का सुवास चौधरीको घरमा लुटपाट गरेको आरोपमा उनकै भतिजी बुहारी सिर्जना चौधरीसहित पाँच जनालाई पक्राउ गरेको हो ।
गत फागुन ६ गते राति साढे १२ बजे सुभासको घरमा हतियारधारी डाँकाको समूहले घर परिवारलाई कुटपिट गरी नगद ५४ हजार रुपैयाँसमेत लुटेर लगेका थिए । सुनसरी प्रहरीले गत आइतबार घटना सम्बन्धमा सुवास चौधरीकी भतिजी बुहारी सिर्जना चौधरी, सिर्जनाका भाइ प्रमेश चौधरी र मर्तुजा मियाँ, अजिम मियाँ र नजामुद्दिन मियाँलाई पक्राउ गरी अनुसन्धान थालेको थियो ।
अनुसन्धानका क्रममा सिर्जनाले आफ्नै ‘डिजाइन’मा काका ससुराको घरमा डकैती गरेको रहस्य खुलेको थियो । सुनसरी प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार राईका अनुसार सिर्जनाले आफ्नो श्रीमानको हकमा परेको पैतृक अंशसमेत बेचबिखन गरी तीस लाख काका ससुराले राखेको भन्दै सिर्जनाले रिसिबी साँध्न घटना घटाएको खुलाएकी हुन् ।
यसरी भएको थियो घटना (सिर्जनाकै शब्दमा)
मेरो श्रीमान वैदेशिक रोजगारीमा हुनुहुन्छ । २०७७ साल जेठ २३ गते राति मेरो घरमा गाउँका मानिसहरू प्रवेश गरी घर अनि मेरो स्कुटरसमेत तोडफोड भयो । मैले यो विषयमा इलाका प्रहरी कार्यालय दुहबीमा मुद्दा दर्ता गराएकी थिएँ ।
उक्त घटना मेरो आफ्नै काका ससुरा सुवास चौधरीले गराएको भन्ने शङ्का गरेकी थिएँ । श्रीमानको हकमा परेको पैतृक अंशसमेत बेचबिखन गरी तीस लाख उहाँ आफैँले घरमै राख्नुभएको थियो । त्यहीँ रिसिली साँध्ने सोच बनाई मैले काका ससुराको घरमा लुटपाट गर्ने योजना बनाएँ ।
मैले प्रमेश चौधरी, मर्तुजा मियाँ, अजिम मियाँ र नजामुद्दिन मियाँलाई घरमा बोलाएर यसबारे कुरा गरेँ । उनीहरू भर्खरै जेलबाट छुटेका हुन् । मर्तुजा मिया र अजिम मिया चोरी मुद्दामा र प्रमेश चौधरी जबरजस्ती करणी मुद्दामा २०७५ सालदेखि झुम्का कारागारमा एकसाथ थिए ।
प्रमेशलाई भेट्न जाने क्रममा सबैसँग चिनजान भएको थियो । उनीहरू सबै कारागारमुक्त भएपछि मैले डकैती गर्ने योजना बनाएकी हुँ । हाम्रो भागमा परेको अंशको तीस लाख काका ससुराले घरमै राखेकोले त्यो पैसा डाँका गरी बाँड्नु पर्छ भन्दै मैले योजना अघि सारेँ ।
त्यसपछि प्रतिवादी नजामुदिन मियाँलगायत अर्का एक जना भारतको वीरपुर गएर भारु २० हजारमा पेस्तोल र एक थान गोलीसमेत किनेछन् । फागुन ५ गते दिउँसो दुई बजे म र सर्वन उराव बिहेमा जाने योजनामा थियौँ ।
त्यसै क्रममा मैले अजिम मियाँ, नजामुद्दिन मियाँलाई मोरङको नेमुवा चौकीभन्दा पश्चिममा रहेको म्याजिक चप्पल उद्योग नजिक बोलाएँ । आफूहरू विवाहमा जान लागेको भन्दै उनीहरूलाई सुवास चौधरीको घरमा डाँका गर्नू भने । र, काका ससुराको घरमा प्रवेश गर्ने बाटो देखाएँ । त्यसको भोलिपल्ट मेरो योजनाअनुसार उनीहरूले काका ससुराको घरमा लुटपाट गरेका हुन् ।