प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा मुख्य रुपमा तीन वटा एजेण्डामा केन्द्रीत रहेर छलफल भएको छ । कोरोना महामारी नियन्त्रणमा सरकारले प्रभावकारी ढंगले काम गर्नुपर्छ भन्ने सुझाव सबै दलले दिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । ।
‘कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी कदम चालोस । यसमा हाम्रो साथ रहन्छ भन्ने सबै दलको धारणा थियो,’ ज्ञवालीले भने ‘हट स्पटहरूका विद्यालय बन्द गरोस् । भीडभाड गर्न गराउन बन्द गराओस् भन्ने सुझाव दिनुभएको छ ।’
दोस्रो एजेण्डामा विभिन्न कारणले रिक्त रहेका संघीय र प्रदेशसभाका निर्वाचन क्षेत्रमा उपनिर्वाचन गराउने बिषयमा छलफल भएको छ । निर्वाचनको कार्यतालिकाका विषयमा प्रधानमन्त्रीले राखेको प्रस्तावमा कांग्रेस सभापति देउवाले आफ्नो पार्टीको महाधिवेशन प्रभावित नहुने गरी कार्यतालिका सार्वजनिक गर्न आग्रह गरेका छन्।
‘भदौमा हाम्रो पार्टीको राष्ट्रिय महाधिवेशन छ । त्यसलाई प्रभावित नगर्ने गरी उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरियोस्,’ देउवाको भनाइ उधृत गर्दै ज्ञवालीले भने, ‘तपाईंहरूसँग परामर्श गरेरै उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गर्छौँ भनेर प्रधानमन्त्रीले भन्नुभएको छ ।’
तेस्रो एजेण्डा थियो बहुचर्चित एमसीसी । एमसीसी पास गर्ने नगर्ने भन्ने विषय संसदको भएको तर सभामुखले यसलाई संसदमा पेश नगरेकोमा दलहरूले आक्रोश व्यक्त गरेको ज्ञवालीले बताएका छन् ।
‘एमसीसी पास गर्ने कि नगर्ने त्यो संसदको विषय हो तर सभामुखले तजविजी अधिकार प्रयोग गरेर यसलाई रोक्न मिल्दैन,’ दलका प्रतिनिधिहरूले राखेको धारणा सुनाउँदै ज्ञवालीले भने, ‘केही दल यसको आलोचक भए पनि जे हुन्छ संसदमै हुन्छ । सभामुखले रोकेर राख्न नमिल्ने भएकोले अविलम्ब संसदमा पेश गर्नुपर्छ भन्ने सबैको साझा धारणा रह्यो ।’